बो शिलाइ दोषी ठहर, आजीवन कारावासको सजायं

  • 22 सेप्टेम्बर 2013
अदालतमा बो शिलाइ
Image caption बो शिलाइ घुसखोरी, शक्तिको दुरुपयोग र आर्थिक अनियमितताको अभियोगमा दोषी ठहरीएका छन्

चीनमा, देशको ध्यान तान्ने गरी चलेको मुद्दाको सुनुवाईका क्रममा जीनान शहरस्थित एउटा अदालतले एकजना भूतपूर्व वरिष्ठ राजनीतिज्ञ र पोलिटब्युरो सदस्य बो शिलाइलाई घुसखोरी, शक्तिको दुरुपयोग र भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरेको छ।

उनलाई आजीवन कारावासको सजायं सुनाइएको छ तर उनले यो सजायंका विरुद्ध पुनरावेदन गर्न पाउने छन्।

अदालतमा बो को उपस्थितीमा नै मुद्दाको फैसला सुनाइएको थियो र यो समाचार तत्कालैजसो समाजीक संजालका वेबसाइटहरु मार्फत फैलाइएको थियो।

फैसला सुनाउंदै शांगडोंग प्रान्तस्थित जीनान शहरका न्यायाधिशले बो लाई उनले आफ्नो पदीय शक्तिको दुरुपयोग गरी दुई करोड चिनीयां युवान बराबरको घुस लिएर चीनको राष्ट्रिय हीत र जनताका हीतमा क्षति पुर्‍याएको बताएका थिए।

यसअघि, आफूलाई यातना र कडा केरकेर गरी दबाबमा पारेर साविती बयान दिन लगाइएको भन्ने बो को दावीलाई न्यायाधिशले खारेज गरिदिएका छन्।

गत महिना पांच दिनसम्म चलेको मुद्दाको सुनुवाईका क्रममा बो शिलाइले आफूमाथि लगाइएका अभियोगहरु विरुद्ध कडा खण्डन प्रस्तुत गरेका थिए।

खारेज

अदालत बाहिर उपस्थित बीबीसीका सम्बाददाता जन सडवर्थ भन्छन्, न्यायाधिशले बो ले आफ्नो बचाउमा प्रस्तुत गरेका दावीहरुलाई खारेज गरिदिएका थिए।

उनलाई घुसखोरीको अभियोगमा आजीवन कासावास, आर्थिक अनियमितताको अभियोगमा १५ बर्ष र शक्तिको दुरुपयोग गरेको अभियोगमा सात बर्षको जेल सजायं सुनाइएको छ।

अब बो ले १० दिनभित्र आफूलाई सुनाइएको सजायं र अभियोगका विरुद्ध पुनरावेदन गर्नुपर्नेछ। तर त्यस्तो खाले प्रयास सफल हुन नसक्ने सम्बाददाताहरु बताउंछन्।

बो शिलाइको मुद्दा चीनमा अभूतपूर्व रुपमा खुला ढंगले संचालन गरिएको भएपनि थुप्रै विश्लेषकहरु यो मुद्दामा उनी दोषी ठहर हुने कुरा पूर्वनिर्धारित जस्तै रहेको बताउंछन्।

Image caption न्यायाधिशले बो को बचाउका तर्कहरुको खारेज गर्दै उनलाई आजीवन कारावासको सजायं सुनाएका छन्

थुप्रैले उनी विरुद्धको यो प्रकृयाका पछाडी बलियो राजनीतिक आयाम रहेको ठान्दछन्।

एकजना ब्रिटिश ब्यापारी नील हेवुडको हत्यामा उनकी श्रीमती गु काइलाइ दोषी ठहरिएपछि उत्पन्न विवादका माझ बो लाई सार्वजनिक पदहरुबाट बर्खास्त गरिएको थियो।

बो शिलाइ ले चोंगचींग नगरमा कम्युनिष्ट पार्टीको सचिवका रुपमा प्रमुखता हासिल गरेका थिए।

लोकप्रिय

त्यहां उनले लागु गरेका सामाजीक नीतिहरुका कारण उनी स्थानीय बासिन्दामाझ लोकप्रिय रहेका थिए।

तर सन् २०१२ मा उनका प्रहरी प्रमुख वांग लिजुनले चेंग्दूस्थित अमेरिकी बाणिज्य दूतावासमा शरण लिन गएपछि उनको राजनीतिक पतनको श्रृंखलाको आरम्भ भएको थियो।

उक्त घटनापछि ब्रिटिश ब्यापारी नील हेवुडको हत्याको अनुसन्धान अघि बढ्न पुगेको थियो।

उनको पतनलाई चीनको सत्ताधारीवर्गमा दशकौंपछि देखिएको राजनीतिक उथलपुथलका रुपमा हेरिन्छ।