नैरोबीमा हमला : कम्तीमा ५९ जनाको मृत्यु

  • 22 सेप्टेम्बर 2013
नैरोबीमा हमला
Image caption वेस्टगेट सेन्टरबाट एक हजार जत‌ि मानिस उम्कन सफल भएका थिए

केन्याको राजधानी नैरोबीस्थित एउटा ब्यापारीक केन्द्रमा शनिवार भएको हमलामा कम्तीमा ५९ जनाको ज्यान गएको छ।

साथै १७५ जना घाइते भएको कुरा एक जना मन्त्रीले बताएका छन्।

जो लेन्कुले भने, संदिग्ध अल शबाबका उग्रवादीहरुको हमला पछि वेस्टगेट सेन्टरबाट एक हजार मानिस उम्कन सफल भएका थिए।

त्यहाँ कति जना गैह्र सैनिक फसी रहेका छन् भन्ने कुरा स्पष्ट भएको छैन।

शपिङ सेन्टर भित्र र वरपर भारी संख्यामा सैनिक उपस्थिती रहेको छ र भित्रबाट फाटफुट गोली चलेको आवाज सुनिन्छ।

जिम्मेवारी

सोमालियामा भएको केन्याली सैनिक कार्वाहीको जवाफमा आफूले उक्त शपिङ सेन्टरमा हमला गरेको कुरा अल शबाबले बीबीसीलाई बताएको छ।

सोमालियाको दक्षिणमा करीब चार हजार केन्याली सैनिकहरु छन्।

उनीहरु सन् २०११ देखि उग्रवादीहरुसित संघर्ष गरी रहेका छन्।

अल शबाबका सामाजीक संजाल संचालकहरुले यो घटनाबाट फाइदा उठाउंदै ट्वीटरमा नियमित अपडेटहरु पठाइरहेका थिए।

आक्रमण भएको दश घण्टापछि पनि तिनीहरुले आफूहरुका लडाकु अझै संघर्षरत रहेका भनी दावी गरिरहेका थिए।

सामना

राष्ट्रपति उहुरु केन्याटाले देशवासीलाई सम्बोधन गर्दै, केन्याले पहिले पनि आंतकवादी आक्रमणहरुको सामना गरेको र अहिले पनि गर्नेछ भनेका छन्।

“यो कालो घडीमा म सबै केन्यालीहरुलाई एकजुट रहन आह्वान गर्दछु। अधिकारीहरुलाई सूचना दिनुहोस् र प्रभावित परिवारहरुलाई सान्त्वना र सहयोग गर्नुहोस्”, राष्ट्रपति केन्याटाको भनाई थियो।

राष्ट्रपतिले मारिनेहरुमा आफ्नो परिवारका केही सदस्यहरु पनि भएको बताएका छन्।

यसअघि सन् १९९८ मा अल कायदाले नैरोबीस्थित अमेरिकी दूतावासमा गरेको हमलामा दुईसय भन्दा बढी मानिस मारिएका थिए।

अधिकारीहरुले घाइतेहरुका लागि रक्तदान गर्न आह्वान गरी राखेका छन्।

नैरोबीको मध्य भाग स्थित रक्तदान केन्द्रमा मानिसहरुको लाम लाग्न थालेको छ।