नैरोबीको मलबाट 'अधिकांसको उद्धार'

  • 23 सेप्टेम्बर 2013

इस्लामवादी विद्रोहीहरुको आक्रमणमा परेको नैरोबीस्थित एक किनमेल गर्ने ठाउँ वेष्ट गेट शपिङ मलको अधिकांश भाग आफ्नो नियन्त्रणमा रहेको केन्याली सेनाले जनाएको छ।

Image caption अल शबाब समुहले घटनाको जिम्मेवारी लिएपनि आक्रमण कस्ले गरेको हो भन्नेबारे अनुसन्धान जारी छ

आक्रमणपछि सो भवनमा बन्दुकधारीहरुले बन्धक बनाएका थुप्रै मानिसहरुको उद्धार गरिसकिएको छ।

तर अझै पनि करिब दश जना मानिसहरुलाई सोहि भवनमा बन्धक बनाईएको हुन सक्ने अनुमान गरिएको छ।

अस्पष्ट

सन् १९९८ मा करिब दुई सयको ज्यान जाने गरि नैरोबीस्थित अमेरिकी दुतावासमा गरिएको बम आक्रमणयता भएको यो यस प्रकृतिको केन्याकै सबैभन्दा ठुलो घटना हो।

गत शनिबार अल शबाब नामको सोमाली ईस्लामवादी समुहले गरेको भनिएको सो आक्रमणपछि भवनमा रहेका अधिकांश मानिसहरुको उद्धार गरिसकिएको सेनाका एक जना प्रवक्ताले बीबीसीलाई बताएका छन्।

अहिले ठ्याक्कै कतिजना बन्धक छन् भन्ने कुरा स्पष्ट भएको छैन।

तर सेनाका ति प्रवक्ताका अनुसार करिब दश जना मानिसलाई विद्रहीहरुले अझै पनि बन्धक बनाईराखेको हुन सक्छ ।

अनि बन्धक बनाउने विद्रोहीहरुको संख्या चाहिं १० देखि १५ हुन सक्ने अनुमान गरिएको छ।

‘छिट्टै टुंगिने’

सेनाका प्रवक्ताले सो सुरक्षा कारवाहि कहिलेसम्म जारि रहन सक्ला भन्नेबारे केहि अनुमान गर्न सकेनन तर त्यो ‘छिट्टै टुंगिने’ आशा व्यक्त गरे।

यसअघि केन्याका राष्ट्रपति उहुरु केन्याटा ले “हामीले सोचे अनुरुप नै सफतलापुर्वक आतंककारीहरुलाई निस्तेज पार्न सक्ने मौका छ” भन्ने अभिव्यक्ती दिएका थिए।

कारवाहिमा चार जना सिपाही घाईते भएको सेनाका प्रवक्ताले जानकारी दिएका छन्।

उद्धार गरिएकामध्ये केहिको शरिरमा पानीको मात्रा अत्यन्तै कम भएको पाईएको थियो।

सबै बन्धकहरुको सकुशल उद्धार आफ्नो प्राथमिकता रहेकोले सैनिक कारवाहि अन्यन्तै संवेदनशील भएको सेनाले जनाएको छ।

अल शबाब समुहले घटनाको जिम्मेवारी लिएता पनि यो आक्रमण कस्ले गरेको हो भन्ने बारेको अनुसन्धान जारी छ।

आक्रमणमा ६८ जनाको ज्यान गएको बताईएको छ।