'राजनीतिक तहको भ्रष्टाचारमा पनि छानविन'

  • 25 सेप्टेम्बर 2013
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
Image caption राजनीतिक तहमा भएका भनिएका भ्रष्टाचारका अभियोग बारे पनि छानविन भईरहेको अख्तियारले जनाएको छ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतक तहमा भएका भनिएका भ्रष्टाचारहरुबारे पनि छानबिन गरीरहेको र केहि समयपछि प्रत्यक्ष परिणाम देखिने आयोगका प्रवक्ताले बताएका छन्।

खासगरी विभिन्न सरकारी निकायका कर्मचारीहरुलाई भ्रष्टाचारको अभियोगमा कार्वाहीलाई तिब्रता दिदै आएको आयोगलाई प्रतिशोधका लागि शक्तिको प्रयोग गरेको आरोपका माझ आयोगको यस्तो भनाई आएको छ।

अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न सरकारी र प्राधिकरणका कर्मचारीहरुलाई धामाधम पक्राउ गर्दै लगेको तर राजनीतिक तहमा भने पछिल्लो समयमा केही नगरेको आरोप लाग्दै आएको छ।

विगतमा भएका सुडान प्रकरण जस्ता ठुला भ्रष्टाचारमा राजनीतिक संलग्नताको चर्चा चले पनि राजनीतिक तहमा अनुसन्धान हुन नसकेको, त्यस्तै माओवादी लडाकुको शिविरमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा पनि मौनता साँधेको भन्ने जस्ता आलोचना आयोगले बेहोर्दै आएको छ।

तर अब राजनीतिक तहका पनि भ्रष्टाचार सम्बन्धी मुद्दालाई कार्वाहीको दायरामा ल्याउन काम गरीरहेको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले बताएका छन्।

उनले भने, "तपाईले इंगित गरेको भ्रष्टाचारमा अनुसन्धान चालु रहेको छ। कुनै दिन परिणाम देख्नु हुन्छ। अहिले यति मात्रै भन्छु।"

गोप्य

हालै कतिपय राजनीतिक नेताहरुको विलासी जीवनशैलीमा अप्रत्याशित बृद्धि भएको देखिएको र उनीहरुको आर्थिक जीवनमाथि पनि धेरैले प्रश्न उठाउने गरेको पाइन्छ।

तर त्यस्ता विषय पनि अब अनुसन्धान र कार्वाहीको क्षेत्रमा आउने अख्तियारका प्रवक्ताले दावी गरे।

"राजनीतिक तहका मान्छेहरुको पनि छानविन भइरहेको छ। अनुसन्धानको विषय बनेर बसिरहेको मुद्दालाई मैले यति जनाको यसरी भइरहेको छ भनेर भन्न मिल्दैन।" प्रवक्ता सापकोटाले भने।

तर कतिपय कार्यलय नै खाली हुने गरी कर्मचारी पक्राउ गरेर लगेको स्थिती एकातिर रहंदा अर्को तरफ एकजना पनि राजनीतिक व्यक्तित्वलाई पछिल्लो समयमा कार्वाहीको दायरामा ल्याउन नसक्नुलाई चाहिं कतिपयले अख्तियारको कार्यशैलीको आलोचना गर्न सकिने विषयका रुपमा प्रस्तुत गरिरहेका छन्।