‘कतारमा नेपालीको स्थिति दास सरह’

  • 27 सेप्टेम्बर 2013
दोहास्थित निर्माणस्थल
कतारका कतिपय निर्माणस्थलहरुमा नेपालीहरुले जोखिमपूर्ण स्थितिमा काम गरिरहेका बताइन्छ

ब्रिटेनको एउटा दैनिक पत्रिका द गार्डियनले कतारमा नेपालीहरु अहिलेको समयमा पनि दास सरह जीवन बिताइरहेको र दैनिक रुपमा एकजना नेपालीको मृत्यु हुने गरेको खोजमूलक समाचार प्रकाशित गरेको छ।

सन २०२२ मा कतारमा आयोजना गरिने विश्वकप फुटबलका लागि आवश्यक संरचना निर्माणमा कार्यरत नेपाली श्रमिकहरुको दयनीय अवस्था पनि उक्त समाचारपत्रले चित्रित गरेको छ।

नेपालीहरुको एउटा प्रमुख गन्तब्य रहँदै आएको कतारमा नेपालीहरुले भने अनुसार तलब नपाउने, कैयौं महिनासम्म तलबै नपाउने, संझौतामा उल्लेख भएको भन्दा फरक किसिमको कठिन र कष्टकर काम गर्नुपर्ने समाचार बारम्बार नेपालमा पनि प्रकाशित हुँदै आएका छन्।

चारमहिनादेखि तलब नपाएपछि काम गर्न छोडेर एउटा कोठामा सातजना साथीहरुसँग नेपाल फर्कने अवसरको पर्खाइमा रहेका सर्लाहीका ढालबहादुर थापाले आफ‍्नो राहादानी कम्पनिले जफत गरेको र फोहर पानी पिएर बस्नुपरिरहेको बताए।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा थापाले भने, “कतारमा काम गर्ने असी प्रतिशत नेपालीहरुको स्थिति हामी जस्तै छ।“

चासो

कतारमा नेपालीहरुको दयनीय स्थितिबारे द गार्डियनमा प्रकाशित समाचारले उत्पन्न गराएको विश्वव्यापी चासो र कतारका लागि नेपाली राजदूत माया कुमारी शर्माको फिर्ता प्रकरणबारे परराष्ट्र मन्त्री माधव घिमिरेले व्यतस्ताको कारण देखाउँदै प्रतिक्रिया दिएनन्।

उनले सुझाएका परराष्ट्र मन्त्रालयका एकजना अधिकारीले पनि आफुले उक्त समाचारपत्र नपढेकाले तत्काल प्रतिक्रिया दिन नसक्ने बताए।

कतारमा फुटबलको विश्व कप आयोजकहरुले गार्डियनको रिपोर्टमा जनाइए अनुसार आफ्नो देशमा विदेशी कामदारहरुप्रति गरिएको व्यवहारबाट आफुहरु स्तब्ध भएको बताएका छन्।

आयोजक समितिले उक्त समाचारपत्रले लगाएको आरोपहरुबारे अनुसन्धान गर्ने बताएको छ।

फुटबलको सर्वोच्च संस्था फिफाले श्रमिकहरु माथि गरिएको भनिएको दुर्व्यवहारबारे चासो व्यक्त गर्दै आगामी अक्टोबर ३ र ४ मा स्वीजरल्याण्डको जुरिखमा हुने कार्यकारी समितिको बैठकमा यो विषयमा छलफल गर्ने र कतारी अधिकारीहरुसँग पनि सम्पर्क गर्ने जनाएको छ।

कतारमा झण्डै चार लाख नेपाली कामदारहरु रहेको अनुमान गरिएको छ।

'राजीनामा माग'

यसैबीच नेपाल सरकारले फिर्ता बोलाएकी कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्माले सरकारका अध्यक्ष खिलराज रेग्मी तथा परराष्ट्र मन्त्री माधब घिमिरेको राजीनामा माग गरेकी छिन्।

बिहीबार बीबीसीसँग कुरा गर्दै उनले रेग्मीले प्रधानन्यायाधीशको पदबाट र गृहमन्त्री समेत रहेका घिमिरेले पनि आफ्नो पदबाट राजीनामा दिनुपर्ने बताइन्।

उनले नेपाल सरकारले पठाएको भनिएको पत्र बिहीबारसम्म आफुले नपाएको पनि बताइन्।