'वैद्य माओवादी चुनावमा आउने सम्भावना अझै बाँकी'

  • 28 सेप्टेम्बर 2013
Image caption वैद्य माओवादी अझै चुनावमा आउने सम्भावना रहेको नेकपा एमालेका एक नेताले बताएका छन्।

मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले मंसिर चारमा हुने भनिएको निर्वाचनलाई विथोल्ने गरी विभिन्न विरोधका कार्यक्रम सार्वजनिक गरीसकेको भए पनि, उ निर्वाचनमा आउने सम्भावना अझै बाँकी रहेको नेकपा एमालेका एक नेताले बताएका छन्।

नेकपा-माओवादी सँग शुक्रबार भएको प्रमुख तीन दलको अनौपचारीक वार्ताबाट आफुहरु आशावादी भएको उनले बताए।

सर्त

वैद्य माओवादीले मंसिर चारमा हुने भनिएको चुनावको सक्रिय बहिस्कार गर्ने भन्दै, आम हड्तालसम्म गर्न सक्ने विरोधका कार्यतालिका सार्जनिक गरेपछि शुक्रबार प्रमुख तीन दलका नेता र वैद्य माओवादी पक्षबीच अनौपचारीक वार्ता भएको छ।

उक्त वार्ता सहभागी नेकपा एमालेका सुरेन्द्र पाण्डे भन्छन्, "उहाँहरुको प्रतिनिधिहरु आउनु भएको थियो। उहाँहरु अझै पनि चुनावमा आउनुहुन्छ। उहाँहरुका केही सर्तहरु छन् भनेर सूचना सुनाउनु भएको छ।"

सामना

तर मंसिर चारमै जसरी भए पनि चुनाव गर्न कस्सिएका दलहरु र उक्त चुनाव हुनै नदिनको लागि सक्रिय बहिस्कारको बाटोमा हिंडीरहेको वैद्य माओवादी बीच भिडन्तको अवस्था आउन सक्ने सम्भावना प्रबल नै रहेको कतिपयको आँकलन छ।

स्थिती जे जस्तो भए पनि सामना गरेर जाने नेता पाण्डेले बताए।

उनले भने, "भोली जे हुन्छ, त्यो त सामना गर्ने कुरा हुन्छ होला। सामना गर्नुको त राजनीतिमा अर्को विकल्प छैन नि। हामी चुनावमा भोट त हाल्ने हो। सुरक्षा व्यवस्था गर्ने काम सरकारको कुरा हो।"

प्रमुख दलहरुले वैद्य माओवादीबाट चुनावमा आउने ग्यारेन्टी खोजीरहेको र उसले यस्तो विश्वास दिलाए चुनाव सार्न पनि दलहरु तयार हुन सक्ने सम्भावना रहेको कतिपय विश्लेषकहरुले बताउने गरेका छन्।