राष्ट्रसंघमा सिरिया बारेको प्रस्ताव सर्वसम्मतिले पारित

  • 28 सेप्टेम्बर 2013
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा मतदान गरिंदै
Image caption रुस र अमेरिकाबीचको सहमतिपछि मतदानका लागि प्रस्तुत दस्तावेज निर्विरोध अनुमोदन भएको छ

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सिरियाको रासायनिक अस्त्र नष्ट गर्ने कार्य योजना तय गरेको मस्यौदा प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

सिरियामा सन् २०११ मा विद्रोह आरम्भ भएयता उक्त देशका सम्बन्धमा राष्ट्रसंघीय सुरक्षा परिषदले पारित गरेको यो पहिलो कानूनी रुपमा बाध्यकारी प्रस्ताव हो।

उक्त प्रस्तावका अनुसार सिरियाले आफ्नो रासायनिक अस्त्र भण्डार नष्ट गर्नु पर्ने छ र अस्त्र विज्ञहरुलाई विना कुरो रोकावट पहुंच दिनु पर्नेछ।

कुटनीतिज्ञहरुले सिरियाका सम्बन्धमा नयां शान्ति वार्ता अब नोभेम्बर महिनाको मध्यतिर आयोजना गरिने खुलासा गरेका छन्।

आशावादी

संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनले , सुरक्षा परिषदले पारित गरेको प्रस्तावलाई धेरै समयपछि सिरियाका सम्बन्धमा आएको पहिलो आशावादी समाचार भनेका छन्।

न्यू योर्कमा बसेको उक्त पन्ध्र सदस्यीय राष्ट्रसंघीय निकायले, रुस र अमेरिकाबीच यसअघि सहमति भएको दस्तावेजलाई समर्थन गरेका थिए।

अन्तर्राष्ट्रिय रासायनिक अस्त्र निगरानी निकायले सिरियाको रासायनिक अस्त्र भण्डारलाई सन् २०१४ को मध्यसम्ममा नष्ट गरिसक्ने एउटा योजना पारित गरेपछि, सुरक्षा परिषदमा मस्यौदा प्रस्तावमाथि मतदान भएको थियो।

अमेरिकी विदेशमन्त्री जन केरीले भनेका छन्, “सुरक्षा परिषदले उक्त प्रस्ताव पारित गरी युद्धका खराब भन्दा खराब अस्त्रलाई पनि कुटनीतिले शान्तिपूर्वक निष्कृय तुल्याउन सक्छ भन्ने देखाएको छ।“

उनले भने, उक्त प्रस्तावले पहिलोपल्ट कुनै पनि देशको समग्र रासायनिक अस्त्र क्षमतालाई निर्मूल पार्नेछ।

सफलता

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले पनि सुरक्षा परिषदको कदमलाई प्रशंसा गर्दै सिरियाका सम्बन्धमा चालिएको अन्तर्राष्ट्रिय कदमको सफलता दमस्कसको कांधमा मात्र आधारित नभएको र त्यसका लागि सिरियाली विपक्षले पनि सघाउनु पर्नेमा जोड दिएका छन्।

सुरक्षा परिषदले पारित गरेको प्रस्ताले रासायनिक अस्त्रको प्रयोगको निन्दा गरेको छ तर त्यसका लागि कसैलाई पनि दोष दिएको छैन।

प्रस्तावमा कानूनी रुपमा बाध्यकारी दुईवटा मागहरु छन्। पहिलो सिरियाले आफ्नो रासायनिक अस्त्र भण्डारलाई त्याग्नु पर्नेछ र दोस्रो रासायनिक अस्त्र विज्ञहरुलाई निर्वाध पहुंच दिनु पर्दछ।

उक्त प्रस्तावमा राष्ट्रसंघीय बडा पत्रको च्याप्टर सेभेनको सन्दर्भ उठाइएको छ, जसले सैनिक बल प्रयोगलाई अनुमति दिन्छ तर त्यस्का लागि अनुमोदन हासिल गर्न अर्को मस्यौदा प्रस्ताव जरुरी पर्नेछ।

यसैबीच सिरियामा हिंसा जारी रहेको छ।

विपक्षी कार्यकर्ताहरुका अनुसार, शुक्रबारको प्रार्थना पछि, दमस्कसको उत्तरमा अवस्थित रानकुस नगरस्थित एउटा मस्जिद नजीकै भएको कारबम विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको छ।