वैद्य पक्षद्वारा चार दललाई वार्ताको अपिल

  • 29 सेप्टेम्बर 2013
उच्च समितिको बैठक
Image caption उच्चस्तरीय समितिले असन्तुष्ट पक्षका माग अस्वीकार गरेपछि वार्ता विफल भएको थियो

प्रस्तावित चुनावमा बाधा पुर्‍याउने उद्देश्यले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको नेकपा-माओवादीले आफ्नो गठबन्धनको तर्फबाट चार राजनीतिक पक्षलाई वार्ताको निम्ति आग्रह गरेको छ।

उसले उम्मेदवार छान्न व्यस्त दलहरुलाई वक्तव्य मार्फत त्यस्तो आग्रह गरेको हो।

वक्तव्यको शुरुका अधिकांश अंश चुनावमा सेना परिचालन गर्ने दलहरुको सिफारिस र सरकारको निर्णयप्रति तीव्र असन्तुष्टी जनाइएको छ।

उक्त वक्तव्यको अन्त्यतिर भनिएको छ, "विद्यमान संकट समाधान गर्दै संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्नका लागि नेकपा–माओवादीसहित ३३ दलीय मोर्चा ४ दलका नेताहरुसँग फेरि पनि वार्ताको लागि आह्वान गर्न चाहन्छ।"

आरोप

वक्तव्यमा यसअघिको वार्तामा आफूले राखेको चार बुँदे प्रस्ताव अस्वीकार गरेर 'सहमतिको संघारमा पुगेको मुलुकुलाई गम्भीर संकटमा फसाउँदै लगेको' आरोप लगाइएको छ।

उक्त प्रस्तावमा गठबन्धनले सरकार प्रमुख खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजिनामा दिनु पर्ने माग गरेको थियो।

नेपाली कांग्रेसका नेता नारायण खड्काले त्यसका निम्ति मंसिरभित्रै गरिने चुनावमा सहभागि हुने प्रतिवद्धता आउनु पर्ने बताएका छन्।

उनले रिपोर्टर्स क्लबको साक्षात्कारमा भने, "मन्त्रिपरिषद अध्यक्षलाई उहाँकै कार्यकालमा शान्तिपूर्ण चुनाव गराएर राष्ट्रलाई निकास दिने उदाहरण पेश गर्न प्रधानन्यायाधीशबाट राजिनामा गर्नुस भन्न सकिन्छ।"

सुनिश्चितता

आन्दोलनरत दलका कतिपय माग पुरा गर्न सकिने धारणा राखे पनि उनीहरु चुनावमा उसको सहभागिता सुनिश्चित हुनु पर्ने पक्षमा छन्।

एकीकृत नेकपा माओवादीका नेता लिलामणि पोख्रेलले भने, "चुनावको मिति सार्ने सहमति गर्ने हो भने पनि नयाँ सरकार गठन गर्ने कुरा तिर नलागौं।"

नेकपा एमालेका नेताले पनि चुनाव केहि दिन सार्न सकिने बताएका छन्।

उक्त दलका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीको प्रश्न छ, "मंसिर चार गते कसैको बर्थ डे (जन्म दिन) त हैन कि त्यसै दिन मनाउनु पर्ने, मंसिर १४ गते चुनाव गर्न सकिन्छ, तर के नेकपा-माओवादीले त्यसमा सहभागि हुने सुनिश्चितता दर्शाउन सक्छ?"

नेकपा माओवादीले गरेको पछिल्लो अपिलबारे प्रमुख पार्टीका शीर्ष तहबाट प्रतिकृया आउन बाँकी नै छ।

बरु उम्मेदवार छान्न उनीहरुले गरिरहेको ढिलाई र ती दलका कनिष्ठ नेताका भनाईले नजिकै आइरहेको चुनावबारेको अन्यौल बढाइ रहेको छ।