'चुनावको लाग‌ि सम्भव भएसम्मको सहयोग गर्न भारत तयार'

  • 29 सेप्टेम्बर 2013
मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी
राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले चुनावले संविधान निर्माणमा सघाउ पुर्याउने बताएका थिए

मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी र भारतीय प्रधानमन्त्री मनमोहन सिंह बीच भएको कुराकानीमा नेपालमा आगामी निर्वाचनका विषयमा छलफल भएको अमेरिकाको न्य‍ूयोर्क स्थित राष्ट्रसंघको महासभामा उपस्थित परराष्ट्र मन्त्रालयका प्रवक्ता दिपक धितालले बताएका छन्।

उनका अनुसार, भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालमा आगामी मंसिरमा हुने भनिएको निर्वाचन सफल पार्न भारतले सम्भव भएसम्म सबै किसिमको सहयोग गर्न तयार रहेको बताएका छन्।

उनले भने, "उहाँहरुले निर्वाचनका लागि चाहिने आवश्यक सामाग्री सम्भव भएसम्म सहयोग गर्न तयार छौं भन्नुभयो। चुनावको समयमा सुरक्षाका लागि खुला सिमाना व्यवस्थापन गर्ने कुरामा उहाँहरु सहमत हुनुहुन्थ्यो।

"चुनाव चाहिं तोकिएको मितिमै गर्ने कुरो भयो।"

सराहना

अमेरिकाको न्यू योर्कस्थित संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधनपछि नेपाली समय अनुसार शनिवार राती अध्यक्ष रेग्मीले राष्ट्रसंघका महासचिव वान कि मुनसँग पनि भेटघाट गरेका थिए।

मन्त्रीपरिषद अध्यक्ष रेग्मी र राष्ट्रसंघका महासचिव वान कि मुन बीच त्यहाँ भएको कुराकानी क्रममा ने‌पालको शान्ति प्रक्रिया सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया महासचिव वानले दिएको प्रवक्ता धितालले जानकारी दिए।

"नेपालको शान्ति प्रक्रियामा अहिलेसम्म भएको जुन प्रगति छ त्यो सकारात्मक दिशामा गएको नै उहाँको राय रह्यो।

"नेपाललाई राष्ट्रसंघले गरी आएको सहयोग कायमै रहने र राष्ट्रसंघीय शान्ति स्थापना कार्यमा नेपालको जुन योगदान छ त्यसलाई उहाँले सराहना गर्नु भयो", धितालले भने।

रेग्मीले हिजो शनिवार राष्ट्रसंघको ६८ औं महासभालाई सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनले चुनावले संविधान निर्माणका साथै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न मद्दत गर्ने बताएका थिए।