निर्वाचनको औपचारिक कार्यक्रम शुरु हुंदै

  • 30 सेप्टेम्बर 2013
parties
Image caption आन्तरिक विवादका कारण मुख्य दलहरुले उम्मेदवारहरुको अन्तिम टुंगो लगाउन अझै सकेका छैनन्।

मोहन वैद्य नेतृत्वको असन्तुष्ट मोर्चालाई ल्याउने भन्दै सरकार समर्थक दलका केही नेताबाट चुनावको मिति सार्ने प्रयत्न भइरहेकै बेला, मंसिर ४ का लागि निर्धारित संविधानसभा निर्वाचनको औपचारिक कार्यक्रम सोमवारदेखि शुरु हुंदैछ।

निर्वाचन आयोगद्धारा सार्वजनिक कार्यतालिका अनुसार समानुपातिकतर्फ भाग लिन चाहने राजनीतिक दलहरुले सोमवार आयोगमा निवेदन पेश गर्नुपर्नेछ।

यसअघि सरकार तथा सरकार समर्थक दलहरुले अनुरोध गरेपछि त्यस्तो निवदेन पेश गर्ने लगायतका उम्मेदवार मनोनयनका कार्यक्रम आयोगले गत साताबाट यो साताका लागि सारेको थियो।

मनोनयन

त्यसरी निवदेश पेश गरेका दलहरुको नामावली मंगलवार नै प्रकाशित हुनेछ भने बुधवार दलहरुले आफ्नो नाम झिक्न चाहेमा फिर्ता लिन सक्नेछन्।

अहिलेसम्म निर्वाचन आयोगमा १३० वटा दल दर्ता छन्। समानुपातिकतर्फ भाग लिने दलहरुको अन्तिम नामावली प्रकाशन गर्न तथा उनीहरुलाई निर्वाचन चिन्ह प्रदान गर्न बिहीवारको दिन तोकिएको छ।

त्यही दिन प्रत्यक्ष निर्वाचनतर्फका औपचारिक कार्यक्रम पनि शुरु हुनेछन् जसअन्तर्गत दलहरुले आफ्ना उम्मेदवारहरुको मनोनयनपत्र दर्ता गर्नुपर्नेछ।

त्यसको भोलिपल्ट अर्थात शुक्रवार दलहरुले समानुपातिकतर्फका आफ्ना उम्मेदवारहरुको बन्दसूची बुझाउनुपर्नेछ।

विवाद

उम्मेदवार मनोनयनका लागि तोकिएका यी मिति नजिकिंदै गर्दा दलहरु आफ्ना उम्मेदवारहरुको अन्तिम सूची बनाउन जोडतोडका साथ लागिरहेका छन्।

केही क्षेत्रका उम्मेदवारहरुको टुंगो लागिसकेपनि टिकटमा हुने हानथाप र विभिन्न विवादले अधिकांशमा चयन गर्न अझै बांकी छ।

ठूला भनिएका दलहरु एकीकृत माओवादी, नेपाली कांग्रेस तथा नेकपा एमाले र मधेशी दलहरुभित्र उम्मेदवार चयनलाई लिएर विवाद देखिएका छन्।

तथापि त्यस्ता विवादलाई छिटै टुंग्याउने ती दलका नेताहरुले बताएका छन्।

तीमध्येका एक, एमालेका नेता भारतमोहन अधिकारीले भने, "उम्मेदवार टुंगो लगाउने कामको ८५ देखि ९० प्रतिशत काम पूरा भइसकेको छ। बांकीमा केही विवाद देखिएको छ तर हामी त्यो पनि छिट्टै टुंग्याउंछौं।"

यी दलहरुको तयारी तीव्र भएका बेला असन्तुष्ट दलहरुको मोर्चाले चाहीं पुन: वार्ताको निम्ति आव्हान गरेको छ।