'विद्यार्थीहरुलाई सुरक्षा थिएन'

  • 30 सेप्टेम्बर 2013
क्षतिग्रस्त विद्यालय
Image caption विद्रोहीहरुले पश्चिमा शिक्षा दिएको भन्दै विद्यालयहरुलाई निशाना बनाउने गरेका छन्

नाइजेरियाका अधिकारीहरुले भनेका छन्, योबे राज्यमा आइतबार सुतीरहेका बेला गोली हानी हत्या गरिएका एउटा कृषि कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई कुनैपनि किसिमको सुरक्षा उपलब्ध गराइएको थिएन।

योबे राज्य सरकारका विशेष सल्लाहकार अब्दुल्लाही बेगोले बीबीसीलाई भने, "राज्य सरकारले सुरक्षा बढाउन सैन्य अधिकारीहरुसँग मिलेर काम गर्नेछ र अरु विद्यालयहरु बन्द गरिनेछैन।"

उनले, उनकै शब्दमा, आतँककारीहरुले त्यही चाहेको बताए।

योबे राज्यमा रहेको कलेजको छात्रावासमा सुतिरहेको अवस्थामा विद्यार्थीहरुमाथि हमला गरिएको थियो।

सँकटकाल

बोको हराम विद्रोही समूह सक्रिय रहेको उत्तरपूर्वी नाइजेरियामा सँकटकाल लगाइएको छ।

तर बोको हराम समूहले सैनिक चौकीहरु, रेष्टुरेण्ट, गिर्जाघर तथा मस्जीदहरुमाथि पनि हमला जारी राखेको छ।

नाइजेरियामा एउटा इस्लामिक राज्य स्थापना गर्न सँघर्ष गरिरहेको बोको हरामले सरकारले गरेको सैन्य कारवाहीको बदलामा हालैका महिनाहरुमा सर्वसाधारणमाथिका हमला तीव्र पारेको छ।

आइतबारको हमला उसैले गरेको आशँका गरिएको छ।

आक्रमणपछि विद्रोहीहरुले कक्षाकोठामा आगो समेत लगाएका थिए।

स्कूल कलेजले पश्चिमा संस्कृति भित्र्याएको आरोप बोको हरामले लगाउँदै आएको छ।

बोको हरामको शाब्दिक अर्थ “पश्चिमा शिक्षा प्रतिबन्धित छ” भन्ने हो।

हमला

गत जुन महिनामा मैदुगुरी नगरबाहिर रहेको एक विद्यालयमा गरिएको हमलामा कम्तीमा नौजना बालबालिकाको ज्यान गएको थियो भने दामातुरुको अर्को विद्यालयमा गरिएको हमलामा शिक्षक तथा विद्यार्थी सहित तेह्रजना मारिएका थिए।

गत जुलाई महिनामा विद्रेाहीहरुले योबे राज्यकै मामुदो गाउँमा एउटा विद्यालयको छात्रावासमा हमला गरी अधिकांश विद्यार्थीहरुसहित बयालिस जनाको ज्यान लिएका थिए।

गत अगष्ट महिनामा बन्दूकधारीहरुले एउटा मस्जीदमा हमला गरी कम्तीमा चौवालिस जनाको ज्यान लिएका थिए।

राष्ट्रपति गुडलक जोनाथनले अब विद्रोहीहरु विरुद्धको नीति परिवर्तन गर्ने बेला आएको बताए।

तर अब कस्तो नीति लिइने हो त्यसबारे उनी स्पष्ट भएनन्।

सन् २००२ मा स्थापना गरिएको बोको हरामका संस्थापक नेता मोहम्मद युसुफको सन् २००९ मा प्रहरीको थुनामा ज्यान गएको थियो।

त्यसपछि उक्त सँगठनको नेतृत्व संहालेका अबुबकर शेकाउ र उनी पछि दोश्रो स्थान ओगटने मोमोदु बामा पनि गत वर्ष एक कारवाहीमा मारिएको नाइजेरियाको सेनाले जनाएको थियो।

तर त्यसको स्वतन्त्र पुष्टि हुनसकेको छैन।

संस्थापक नेताको मृत्यु पछि बोको हरामले आफ्ना हमलाहरु तीव्र पार्दै लगेको छ।