बजेट विवादका कारण कयौं सरकारी सेवा बन्द

  • 1 अक्टोबर 2013
विरोध
Image caption ओबामा केयर भनिने नयाँ स्वास्थ्य सेवा विधेयक विवादको केन्द्र विन्दुमा थियो

ह्वाइट हाउसको निर्देशनपछि १७ वर्षमा पहिलो पटक थुप्रै संघीय सरकारी कार्यालयहरु बन्द हुनेछन् र हजारौं हजार कामदारहरु बिना कुनै पारिश्रमिक घर बस्न बाध्य हुने‌छन्।

सहमति जुटाउने समयसीमा नजिकिन थालेपछि बजेट अध्यादेश रिपब्लिकनको बोलवाला रहेको हाउस अफ रेप्रेजेन्टेटिभ र डेमोक्रेटहरुको बाहुल्यता रहेको सिनेटबीच घुमिरहेको थियो।

राष्ट्रपति ओबामाले अघि सारेको स्वास्थ्य सेवा सुधार सम्बन्धी विधेयकलाई केही ढिला गरेर बजेट अध्यादेश पारित गरियोस् भन्ने रिपब्लिकनहरुको प्रस्तावलाई डेमोक्रेटहरुले अस्विकार गरिदिएपछि गतिरोध लम्बिएको हो।

सिनेटको बैठक मंगलबार बिहानसम्मका लागि स्थगित गरिएको छ।

मिलाउने प्रयास

स्वास्थ्य सेवा विधेयकबारे डेमोक्रेटिक र रिपब्लिकनहरुबीच रस्साकस्सी जारी रहँदा ओबामाले बजेटको अभावमा हुने केही आमसिक सरकारी सेवा बन्दलाई रोक्न सम्भव भएको बताएका थिए।

उनले रिपब्लिनहरुद्वारा नियन्त्रित प्रतिनिधी सभालाई अर्को वर्षको बजेट पारित गर्न नदिएर विपक्षीहरु पुरै गैरजिम्मेवार बनेको आरोप लगाएका थिए।

ओबामाले भने, “दुर्भाग्यपूर्ण कुरा के हो भने अहिले रिपब्लिकनहरु सरकारले छुट्याइने रकमलाई गर्भनिरोधक साधनमाथि महिलाहरुको पहुँच सीमित गर्ने र स्वास्थ्य सेवा ऐन ल्याउन ढिलाइ गर्ने जस्ता सैध्दान्तिक माग संग जोडिरहेका छन्।

“म एउटा कुरा स्पष्ट पार्न चाहान्छु भने स्वास्थ्यसुधार ऐनको एक महत्वपूर्ण हिस्सा भोलिबाट प्रभावकारी हुँदैछ।”

ओबामा केयर भनिने नयाँ स्वास्थ्य सेवा विधेयक विवादको केन्द्र विन्दुमा थियो।