रेग्मीविरुद्धको रिटमा थप सुनुवाइ मंगलबार

  • 1 अक्टोबर 2013
रेग्मी
Image caption यसअघि सर्वोच्चले रेग्मीलाई प्रधानन्यायाधीशका रुपमा आफूलाई नचिनाउन आदेश दिइसकेको छ।

मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको नियुक्ति तथा वाधा अड्काउ फुकाउको वैधानिकता परिक्षण गर्ने भनिएका रिटहरुमाथि थप सुनुवाइ गर्न मंगलबारका लागि सर्वोच्च अदालतले पेशी तोकेको छ।

मुद्दाका पक्ष तथा विपक्षमा बहसका लागि करिब तीन दर्जन कानून व्यवसायीले नाम लेखाएकाले मंगलबार सुनुवाइ नसकिने र अर्को पेशी दशैंपछि मात्रै तोकिने सम्भावना रहेको सर्वोच्चका अधिकारीहरुले बताएका छन्।

बहस

६ महिनापछि अन्तत: असोज ३ गते आएर शुरु भएको सुनुवाइको पहिलो दिन, मुद्दाका पक्षका एक जना वकीलले मात्रै बहस प्रारम्भ गरेका थिए।

संवैधानिक विवादसंग जोडिएका विभिन्न सात रिटलाई एकै ठाउंमा राखेर थालिएको उक्त बहस नसकिएपछि अर्को पेशी मंगलबारका लागि तोकिएको हो।

सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलले भने, "मुद्दाका पक्षका वकीलहरुले बहस सकेपछि विपक्षी बनाइएको सरकारका वकीलहरुले बहस गर्नेछन्। फेरि दुवै पक्षले केही जवाफ दिनुपरे प्रतिबहस हुनेछ।"

बहसकर्ता

सर्वोच्चकै अर्का अधिकारी सहायक प्रवक्ता बाबुराम दाहालका अनुसार ती रिटको पक्ष विपक्षमा बहस गर्न करिब तीन दर्जन वकीलले नाम टिपाएका छन्।

यति ठूलो संख्यामा वकीलहरुले बहस गर्ने भएकाले मंगलबार सुनुवाइ नसकिने र अर्को पेशी दशैंपछि सर्ने सम्भावना रहेको प्रवक्ता पौडेलको भनाइ छ।

औचित्य

तर एकातिर बहसकर्ताहरुको ठूलो संख्या, त्यसमाथि बहस सकिएपछि त्यसबाट उठेका विषयमा पक्ष विपक्षका वकीलले फेरि प्रतिबहस गर्ने चलन रहेको पृष्ठभूमिमा, यी रिटको अन्तिम किनारा चुनावअघि समेत हुने सम्भावनामा विरोधी कानून व्यवसायीहरु शंका व्यक्त गर्छन्।

चुनावी प्रयोजनका लागि मन्त्रिपरिषद् अध्यक्ष बनाइएका रेग्मीविरुद्धका मुद्दाको किनारा चुनावपछि लागे त्यसको औचित्य नरहने कतिपयको टिप्पणी छ।