इटलीमा सरकारको पक्षमा बिश्वासको मत

  • 2 अक्टोबर 2013
सिल्भियो बेर्लुस्कोनी
Image caption सिल्भियो बेर्लुस्कोनीको हालैका दिनहरुमा प्रधानमन्त्रीसित मनमुटाव बढ्दै गएको थियो

इटलीका प्रधानमन्त्री एनरीको लेट्टाले सिनेटमा बिश्वासको मत हासिल गरेका छन्।

अन्तिम समयमा भूतपूर्व प्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी उनको पक्षमा आए पछि लेट्टालाई बिश्वासको मत प्राप्त भएको हो।

बेर्लुस्कोनीले आफ्नो मध्य दक्षिणपन्थी पार्टीका पाँच जना मन्त्रीले राजीनामा दिनु पर्ने माग गरे पछि मतदान गर्नु पर्ने अवस्था आइ परेको थियो।

तर आफ्ना केही सिनेटरहरुले सरकारको समर्थन गर्ने कुरा स्पष्ट भए पछि उनी पछाडी हटेका थिए।

त्यस अघि सिनेटमा बोल्दै लेट्टाले आफू पराजित भए इटलीको लागि घातक हुन सक्ने कुरा बताएका थिए।

बेर्लुस्कोनीले आवश्यक भन्दा बढी प्रतिक्रिया जनाएको स्पष्ट नैं थियो।

तीन पटक प्रधानमन्त्री भैसकेका बेर्लुस्कोनी लज्जास्पद रुपमा पछाडी हट्नु परेकोले अब इटलीको राजनीतिमा उनको प्रभाव कम हुन सक्छ।

मनमुटाव

बेर्लुस्कोनीले लेट्टामाथि न्यायीक माध्यमबाट आफ्नो राजनैतिक हत्या गर्न दिएको आरोप लगाएका थिए।

अगष्ट महिनामा कर धाँधलीको अपराधमा बेर्लुस्कोनी दोषी ठहरीएका थिए।

अब बेर्लुस्कोनीलाई निष्काशन गर्ने वा नगर्ने भनी सिनेटको एक समितिले यसै साता मतदान गर्नेछ।

सन् २०११ को नोभेम्बर महिनामा राजीनामा दिनु अघि झण्डै दुई दशकसम्म इटलीको राजनीतिमा बेर्लुस्कोनी छाएका थिए।

निर्वाचन भएर दुई महिनासम्म राजनैतिक गतिरोध चले पछि एप्रिल महिनामा लेट्टाको गठबन्धन सरकार गठन भएको थियो।