रिपब्लिकन फिरौती चाहन्छन्:ओबामा

  • 2 अक्टोबर 2013
shutdown
Image caption काम बन्दका कारण ७ लाख भन्दा बढी सरकारी कर्मचारी बेतलबी बिदामा बस्न वाध्य भएका छन्

अमेरिकी राष्ट्रपति बाराक ओबामाले सरकारी निकायमा ठप्प भएका काम खुलाउने नाममा रिपब्लिकनहरुलाई, ओबामाकेयर भनिने स्वास्थ्यसम्बन्धी उनको महत्वपूर्ण विधेयकलाई कमजोर हुन नदिने बताएका छन्।

ओबामाको नयां स्वास्थ्य कानूनमा ढिलाइ गर्न वा त्यसलाई विफल पार्न रिपब्लिकनहरुले अड्डी लिएपछि अमेरिकी संसदको दुवै सदनले बजेट पारित गर्न नसक्दा सरकारी कामकाज ठप्प हुने अवस्था आएको हो।

आक्रोश

रिपब्लिकनहरुप्रति क्रुद्ध हुंदै राष्ट्रपति ओबामाले उनकै शब्दमा रिपब्लिकनहरुले फिरौती मागेको टिप्पणी गरे।

उनले भने,"जबसम्म हामीले ओबामाकेयर त्याग्दैनौं तबसम्म संसदमा रहेका रिपब्लिकनहरुले सरकारलाई बजेट दिन अस्वीकार गरेका छन्। सैद्धान्तिक मागलाई लिएर उनीहरुले लाखौ अमेरिकीले पाउने स्वास्थ्य इन्सुरेन्स रोकेका छन्।"

बजेट पारित नहुंदा संघीय सरकारका सात लाख भन्दा बढी कर्मचारी बेतलबी बिदामा जान वाध्य भएका छन्।

वार्ता

यो अवस्था अन्त्य गर्नेका लागि ओबामाले रिपब्लिकनहरुलाई पुन: आव्हान गरेका छन्।

रिपब्लिकनहरुले पनि राष्ट्रपतिको दल डेमोक्रयाटि्क पार्टीसंग वार्ताका लागि आव्हान गरेका छन्।

संसदमा रिपब्लिकनहरुका नेता इरिक क्यान्टोरले भने, “शायद राष्ट्रपतिले दलीय भाषणहरुमा भन्दा संसदभित्र समस्या समाधानका लागि छलफल गरेको भए आज यो परिस्थिति आउने थिएन।”

रिपब्लिकनहरुले आंशिक रुपमा सरकारलाई बजेट निकासा गर्ने प्रस्ताव गरेका छन्।

तर डेमोक्र्याट्हरुले यस्ता टुक्रे योजना गम्भीर नभएको भन्दै अस्वीकार गरेका छन्।