चुनावी रंग थप्दै देशभर उम्मेदवारी दर्ता

  • 3 अक्टोबर 2013
नाम दर्ता गराउँदै उम्मेदवारहरु
Image caption उम्मेदवारहरु गाजाबाजा सहित नाम दर्ता गराउन निर्वाचन कार्यालय गएका थिए।

नेकपा-माओवादीले बहिष्कार गर्ने घोषणा गरेको संविधानसभा चुनावका निम्ति प्रत्यक्ष तर्फको २४० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रुपमा उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगका अनुसार प्रमुख दलका शीर्ष नेताहरुले कतै आफै गएर त कतै प्रतिनिधि मार्फत उम्मेदवारी दर्ता गराएका छन्।

मध्यपश्चिमको सल्यान जिल्लामा एकीकृत नेकपा माओवादी र चुनाव बहिष्कार गर्ने घोषणा गरेको नेकपा-माओवादीका कार्यकर्ताबीच झडप भएको थियो।

तर उम्मेदवारी दर्ता देशभर शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगको भनाइ छ।

आँकडा

आयोगका प्रवक्ता बीरबहादुर राईका अनुसार पश्चिमाञ्चलमा एक हजार ५५ जना उम्मेदवार बनेका छन्।

ती मध्ये २१६ जना स्वतन्त्र र ९० जना महिला छन्।

मध्य पश्चिमाञ्चलमा दर्ता भएका ५८४ जना उम्मेदवारहरु मध्ये महिला ६९ र स्वतन्त्र ३७ जना छन्।

सुदूरपश्चिमाञ्चलका ३९१ जना उम्मेदवार मध्ये महिला ३७ र स्वतन्त्र १४ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ।

आयोग प्रवक्ता राईले भने, "मध्य र पूर्वाञ्चल क्षेत्रको पूर्ण विवरण आउन बाँकी छ, अहिलेसम्म देशभर साढे ५ हजार उम्मेदवारी दर्ता भएको जानकारी आएको छ।"

असन्तुष्टि

पार्टीका उम्मेदवारप्रति असन्तुष्टहरु नै धेरै जसो स्वतन्त्र र विद्रोही उम्मेदवार बनेका छन्।

काठमाण्डू क्षेत्र नं ३ मा विद्रोही उम्मेदवार बनेका एकीकृत नेकपा माओवादीका गणेश तामाङले भने, "पार्टी कमिटिमा त्यति धेरै साथीहरु हुँदाहुँदै अरुलाई नै टिकट दिएपछि मैले उम्मेदवारी दिएको हुँ।"

नेपाली कांग्रेसका चर्चित युवा नेता गगन थापाले उम्मेदवारी दिएको काठमाण्डूको क्षेत्र नं ४ मा कांग्रेस परित्याग गरेकी पूर्व सभासद सुप्रभा घिमिरे पनि उम्मेदवार बनेकी छन्।

बाजागाजा र तामझामका माझ भएको उम्मेदवारी दर्ता हेर्दा कतिपय सर्वसाधारणले चुनावी पारो चढेको महसुस भएको बताए, तर कतिपयले नेकपा-माओवादीको बहिष्कारले गर्दा चुनावले भित्रैदेखि उत्साही बनाउन नसकेको प्रतिकृया दिए।

चुनावी मैदान

सर्वसाधारणले त्यस्तो प्रतिकृया जनाएको काठमाण्डूको चुनावी मैदानमा प्रमुख दलका प्रमुख नेताहरु पनि उत्रिएका छन्।

एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले संविधानसभाबाट संविधान लेख्ने अन्तिम अवसरको रुपमा मंसिर ४ गतेको चुनावलाई लिएको बताउँदै सफल हुने विश्वास व्यक्त गरे।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि अघिल्लो संविधानसभामा देखिएका विवादका विषयमा राजनीतिक सहमति जुटेर संविधान लेखिनेमा आश्वास्त हुन आग्रह गरेका थिए।

बल्ल तल्ल छानिएका उम्मेदवारहरुको उम्मेदवारीले राजनीतिक अन्यौलका कारण बन्न नसकेको चुनावी वातावरणमा केही हदसम्म रंग थपिदिएको धेरैको अनुभव छ।