समानुपातिकतर्फ बन्दसूची बुझाइंदै

  • 4 अक्टोबर 2013
direct election
Image caption बिहीबार प्रत्यक्षतर्फ ६ हजार ३ सयभन्दा बढी उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन्।

आउंदो मंसिर ४ गतेका लागि तय संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयनको भोलिपल्ट शुक्रबार दलहरुले समानुपातिकतर्फका आफ्ना उम्मेदवारहरुको बन्द सूची निर्वाचन आयोगमा बुझाउंदैछन्।

प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारी मनोनयन सकिएपछि आयोगले शनिबारबाट मतपत्र छपाइको काम समेत थाल्ने बताइएको छ।

कोटा

कार्यतालिका अनुसार, समानुपातिक चुनावमा भाग लिन गत सोमवार निर्वाचन आयोगमा निवेदन दिएका १२४ वटा राजनीतिक दलले शुक्रबार उम्मेदवारहरुको बन्दसूची बुझाउनेछन्।

उक्त बन्दसूची कात्तिक ६ गतेमात्रै सार्वजनिक गरिनेछ भने त्यसपछि उम्मेदवारका योग्यतासम्बन्धमा परेका दावी विरोधमाथि जांचबुझ गरी अन्तिम सूची भने कात्तिक २९ गते गर्ने प्रकाशित गर्ने योजना आयोगको छ।

शुक्रबार पेश गरिने बन्दसूची तयार पार्दा दलहरुले महिला, मधेशी, दलित तथा पिछडिएका वर्ग लगायतका लागि निश्चित कोटा छुट्याउनुपर्ने कानूनी व्यवस्था छ।

आयोगका एक जना आयुक्त रामभक्त पीबी ठाकुरले भने, "प्रत्यक्ष र समानुपातिक गरी ३३ प्रतिशत महिला उठाउनुपर्छ। समानुपातिकमा मात्रै भने ५० प्रतिशत महिलालाई दिनुपर्छ"।

ठूलो संख्या

प्रत्यक्ष र समानुपातिकतर्फ कुल ३० प्रतिशतभन्दा कम उम्मेदवारी दिनेहरुको हकमा समावेशी बन्नु पर्ने व्यवस्था नभएपनि महिलाहरुलाई भने त्यस्ता दलले पनि ५० प्रतिशत उम्मेदवारी दिनुपर्ने व्यवस्था छ।

समानुपातिकतर्फ पाएको मतका आधारमा कुल ३३५ समानुपातिक सिटको हिस्सा एउटा विशेष सूत्रद्धारा दलहरुमाझ विभाजन गरिन्छ।

प्रत्यक्षतर्फको २४० सिटका लागि बिहीबार ६ हजार ३ सयभन्दा बढीले उम्मेदवारी दर्ता गराएका छन् जसमध्ये झण्डै ६ सय महिला १ हजार स्वतन्त्र तथा एक जना तेस्रा लिंगी समेत रहेको आयोगले जनाएको छ।

मतपत्र

यो विवरण र शुक्रबार समानुपातिकको सूचीका आधारमा शनिबारबाट मतपत्र छाप्ने काम थाल्ने आयुक्त ठाकुरले बताए।

उनले भने, "हरेक निर्वाचन क्षेत्रबाट एउटा, एउटा मतपत्र छाप्नुपर्ने हुन्छ त्यसले गर्दा खेरि हामी आज (शुक्रबार) हिसाब गरी सिद्धान्तत: भोलि (शनिबार)बाट शुरु हुन्छ।"

मतपत्र छाप्ने काम थाल्ने तयारी भएपनि चुनावविरोधी पक्षले सक्रियता देखाउने संकेत आइरहेका बेला मतपत्रको ढुवानीमा अवरोध हुनसक्ने खतरा कतिपयले औल्याएका छन्।