अफ्गानीस्तानमा नेटोले दुख मात्र ल्यायो: कारजाई

  • 8 अक्टोबर 2013
हमीद कारजाई
Image caption कारजाईको राष्ट्रपतीय कार्यकाल अब ६ महिनामात्र बाँकी रहेको छ

अफगानीस्तानका राष्ट्रपति हमिद कारजाईले उत्तर एटलान्टिक सन्धी संगठन नेटोका सेनाहरुलाई युद्बले क्षत बिक्षत आफ्नो देशमा स्थिरता ल्याउन नसकेको आरोप लगाएका छन्।

बीबीसीलाई दिएको एक अन्तर्वार्तामा राष्ट्रपति कारजाईले नेटोको दशौं अर्ब डलरको सैनिक कारवाहिले अफगानीस्तानमा धेरै दुख निम्त्याएको बताएका छन्।

असुरक्षित

राष्ट्रपति कारजाईले एक दशक भन्दा पनि लामो नेटोको सैनिक कारवाहीले देशमा दुख मात्र ल्याएको, विना कुनै उपलब्धि थुप्रैको ज्यान गएको अनि देश असुरक्षित नै रहेको बताएका छन्।

उनले भने “यो भन्दै गर्दा म कत्ति पनि खुशी छैन कि यहाँ आंशिक सुरक्षा मात्र छ। तर हामीले पुर्ण सुरक्षा चाहेका थियौं।”

नेटोको कारवाही तालीबानहरुले सुरक्षित स्थलका रुपमा प्रयोग गर्ने पाकिस्तानका इलाकाहरुप्रति लक्षित हुनु पर्नेमा गल्तीले अफ्गानीस्तानका गाउँहरुलाई निशाना बनाईंदै आएको कारजाईले टिप्पणी गरेका छन्।

उनले आतंकवाद विरुद्ध स्पष्ट लक्षित कारवाही हुनुपर्ने बताए।

कारजाईको कार्यकाल अवधी अब ६ महिना मात्र बाँकी छ।

राष्ट्रपतिका रुपमा आफ्नो संभवत अन्तिम ठूलो उक्त अन्तर्वातामा उनले तालीबानसंग सत्ता साझेदारी सहमति संगै अफगानीस्तानमा शान्ति स्थापना आफ्नो प्राथमिकता भएको उल्लेख गरेका छन्।

Image caption तालीबानसंग वार्ताको चर्चा चल्दै गर्दा अफगान महिलाको अधिकार संरक्षणका आवाजपनि उठेका छन्

राष्ट्रपति कारजाईले आफुले अब व्यक्तिगत रुपमा तालीबानसंग वार्ता गरि आगामी चुनावमा प्रतिस्पर्धाका लागि आह्वान गर्ने बताएका छन्।

सर्वसाधारण नागरिकहरु मारिनु, अफगान सरकार तथा अमेरिकि नेतृत्वको नेटो सेनाबीचको सम्बन्ध विगार्ने कारक बन्दै आएको छ।

महिला अधिकार

तालीबानलाई पुन: सरकारमा सामेल गराउँदा अफ्गानीस्तानमा महिलाहरुको स्थितिका सम्बन्धमा हासील भएका थोरै मात्र उपलब्धि पनि गुम्न सक्ने कुरालाई उनले अस्वीकार गरेका छन्।

“तालीबानको फीर्तिले विकासलाई ओझेलमा पार्ने छैन। देशलाई शान्ति चाहिएको छ। अफ्गानीस्तानमा शान्ति ल्याउन म कुनै पनि कुराका लागि खडा हुन सक्छु र त्यसै मार्फत महिलाहरुको स्थिति सुधार्ने प्रयसहरुलाई प्रोत्साहन गर्नेछु,” उनको भनाई थियो।

अफगानीस्तानको सार्वभौमसत्तालाई नेटोले आदर नगर्ने गरेको भन्दै कारजाईले खुला आलोचना गरेका ‌कारण हालैका दिनहरुमा उनलाई समर्थन गर्ने पश्चिमा राष्ट्रहरुसंगको उनको सम्बन्ध विग्रंदै गएको छ।