‘गैससमा हुने भ्रष्टाचार अनुसन्धान गर्न कानून अभाव’

  • 8 अक्टोबर 2013
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
Image caption कानूना संशोधन नहुंदा अख्तियारले उजुरीहरुलाई सम्वन्धित जिल्ला प्रशासन कार्यालय पठाउने गरेको छ

कतिपय गैरसरकारी संस्थाहरुमा आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै बेला बेलामा अख्तियारमा उजुरी आउने गरेको अख्तियारका एक अधिकारीले बताए।

तर कानून नहुंदा अख्तियार अप्ठ्यारोमा परेको उनले बताए।

भ्रष्टाचार नियन्त्रण सम्वन्धी सन् २००३को राष्ट्रसंघीय महासन्धीलाई नेपालले दुई वर्षअघि अनुमोदन गरेको थियो।

तर अख्तियारका प्रवक्ता श्रीधर सापकोटाले गैरसरकारी क्षेत्रमा हुने आर्थिक अनियमितता तथा भ्रष्टाचारबारे आउने उजुरीहरुमाथि छानविन गर्ने अख्तियारी अख्तियारसंग अहिलेसम्म नभएको बीबीसीलाई बताए।

नेपालभर हजारौं गैरसरकारी संस्थाहरु कार्यरत छन्।

‘कार्ययोजना’

“सो महासन्धी अनुसारको कानून बनाउन कार्ययोजना बनेको छ, हामीले कानून सुधार आयोगमा सुझाव पनि दिएका छौं, तर कानून संशोधन नभएकोले हामी गैरसरकारी क्षेत्रमा अनुसन्धान गर्न सकिरहेका छैनौं।”

विद्यमान कानूनमा संशोधन नहुंदा अख्तियारले उजुरीहरुलाई सम्वन्धित जिल्ला प्रशासन कार्यालय पठाउने गरेको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको अनुगमन गर्ने निकाय समाज कल्याण परिषदको वेबसाइटका अनुसार नेपालमा ३० हजार भन्दा बढी गैरसरकारी संस्थाहरु दर्ता भएका छन्।

कयौं अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुपनि नेपालमा कार्यरत छन्।

परिषदले पनि सबै गैरसरकारी संस्थालाई आफ्ना कामकारवाही र हिसावकिताव पारदर्शी राख्न बेला बेलामा घचघच्याउने गरेको छ।