भौतिक शास्त्रतर्फको नोबल पुरस्कार पिण्ड अध्ययन गर्ने दुईलाई

  • 8 अक्टोबर 2013
Image caption पुरस्कार घोषणा गर्न आयोजित पत्रकार सम्मेलन एक घण्टा भन्दा बढी समयले ढिला भएको थियो

यस वर्षको भौतिक विज्ञान शास्त्रतर्फको नोबल पुरस्कार ब्रम्हाण्डमा रहेको पिण्ड सम्बन्धि एउटा सिद्धान्तमा काम गरेका दुई वैज्ञानिकहरूलाई दिइएको छ।

संयुक्त अधिराज्यका पिटर हिग्स र बेल्जियमका फ्राँस्वाँ एङ्ग्लर्टलाई सो पुरस्कार संयुक्त रूपमा दिइएको छ।

ब्रम्हाण्डको आधारभूत बनावटमा पिण्ड किन रहेको हुन्छ भन्ने कुरा बुझाउन सन् १९६० को दशकमा एउटा संयन्त्र प्रस्ताव गर्ने थुप्रै भौतिक शास्त्रीहरू मध्ये ती दुई पनि थिए।

सो संयन्त्रले एक प्रकारको कणबारे भविष्यवाणी गरेको थियो।

हिग्स बोसोन नामक सो कण सन् २०१२ मा स्विजरल्याण्डको सर्नस्थित एक प्रयोगशालामा पत्ता लागेको थियो।

स्विडेनको राजकीय विज्ञान प्रज्ञाप्रतिष्ठानका स्थायी सचिव स्टाफान नोरमार्कले भने, “यस वर्षको विज्ञान शास्त्रतर्फको नोबल पुरस्कार स्यानो देखिने विषयलाई दिइएको छ तर त्यो ठूलो प्रभाव पार्ने विषय हो।“

पुष्टी

नोबल पुरस्कार समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “अणु भन्दा पनि स्यान कणहरू मिलेर बन्ने पिण्डबारे बुझ्न सैद्धान्तिक विधि पत्ता लगाए वापत यो पुरस्कार दिइएको छ, र त्यो कुरा हालै सर्नस्थित लार्ज ह्याड्रन कोलाइडरले पुष्टी गरेको थियो।“

भौतिक शास्त्री फ्राँस्वाँ एङ्ग्लर्टलले सो पुरस्कार प्राप्त गरेर आफू निकै खुशी भएको बताए।

“पहिले त मैले सो पुरस्कार नपाएको सोचेको थिएँ किनभने मैले सो घोषणा सुन्न पाएको थिएन।“

सो घोषणा गर्न आयोजना गरिएको पत्रकार सम्मेलन एक घण्टा भन्दा बढी समयले ढिला भएको थियो।

एडिन्ब्रा विश्वविद्यालयका प्राध्यापक हिग्सले भने, “यो पुरस्कार पाएर म खुशीले गदगद भएको छु र म स्विडेनको राजकीय विज्ञान प्रज्ञाप्रतिष्ठानलाई धन्यवाद दिन चाहन्छु।“

सर्न प्रयोगशालाका महानिर्देशक रोल्फ हैउर्ले यस वर्षको भौतिक विज्ञान शास्त्रतर्फको नोबल पुरस्कार कण सम्बन्धि भौतिक शास्त्रलाई दिइएकोमा उनी निकै उत्साहित भएको बताए।