लिबियाका प्रधानमन्त्री अपहरणपछि मुक्त

  • 10 अक्टोबर 2013
लिबियामा प्रधानमन्त्री अली जेइदान
Image caption प्रधानमन्त्री जेइदानलाई कब्जामा लिइनुका पछाडीको कारण स्पष्ट भएको छैन

मिलिसियाको कब्जाबाट मुक्त भएपछि बोल्दै लिबियाका प्रधानमन्त्री अली जेइदानले "शान्ति र बुद्धिमत्ता"का लागि आह्वान गरेका छन्।

उनले अपहरण मुक्त भएपछि गरेका मन्त्रीमण्डलको बैठकको दृश्य लिबियाको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

बैठकमा उनले आफूलाई "वास्तविक क्रान्तिकारीहरु"ले उद्दार गरेका बताएका थिए।

उनले आफूलाई मुक्त गर्न सघाउनेहरु धन्यवाद दिए तर अपहरणकारीहरुका बारे भने कुनै विवरण दिएनन्। सरकारले प्रधानमन्त्री अली जेइदानलाई बन्दूकधारीहरुले कब्जामा लिएको केही घण्टापछि मुक्त गरिएको बताएको थियो।

एकजना सरकारी प्रवक्ताले लिबियाको टेलिभिजनलाई बताए अनुसार प्रधानमन्त्री जेइदानको स्वास्थ्य अवस्था ‌ठिक छ।

उनले प्रधानमन्त्रीको अपहरण र मुक्तिका बारे थप विवरण पछि दिइने बताएका छन्।

अपहरण

प्रधानमन्त्री जेइदानलाई राजधानी त्रिपोलीमा उनी बस्ने होटेलबाट सशस्त्र व्यक्तिहरुले अपहरण गरेका थिए।

देशको आन्तरिक मामिला मन्त्रालयका निम्ति करारमा काम गर्ने एउटा मिलिसिया समूहले, आफूले प्रधानमन्त्रीलाई पक्राउ पुर्जी सहित कब्जामा लिएको बताएको थियो।

तर सरकारले त्यस्तो पक्राउ पुर्जीको अस्तित्व नरहेको बताएको छ। उक्त सशस्त्र समूहले आफूले उनलाई, उस्कै भनाईमा, आर्थिक अनियमितताहरु लागि पक्राउ गरेको हो।

तर बीबीसीका सुरक्षा तथा कुटनीतिक सम्बाददाता जोनाथन मार्कस भन्छन्, प्रधानमन्त्री जेइदानको अपहरणका पछाडीको यकिन उद्देश्य स्पष्ट छैन।

Image caption केहि दिन अघि अमेरिकी सैनिकहरुले कमाण्डो कार्वाही गरेर एकजना अलकायदा संदीग्धलाई पक्रेका थिए

आक्रोश

तर केहि दिन अघि लिबियामा अमेरिकी सैन्यले एकजना अलकायदा संदीग्धलाई पक्राउ गरेको घटनाप्रति केहि वृत्तमा उत्तपन्न आक्रोशसंग त्यसको सम्बन्ध हुन सक्ने अनुमान गरिएको छ।

उक्त घटनालाई मानिसहरुले लिबियाको सार्वभौमिकताको उलंघनका रुपमा लिएका छन् र सरकारलाई त्यसमा आफ्नो संलग्नता रहे नरहेको स्पष्ट पार्न दबाब बढिरहेको छ।

यो प्रकरणले देशमा जारी अव्यवस्था र अझै पनि प्रभावशाली रहेका विभिन्न सशस्त्र समूहको तर्फबाट हुनसक्ने खतरालाई उजागर गरिदिएको छ।