बहिष्कार शान्तिपूर्ण : नेकपा माओवादी

  • 10 अक्टोबर 2013
Image caption निर्वाचन आयोगले बिहीबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ

निर्वाचन बहिष्कार गर्ने घोषणा गरेको नेकपा माओवादीले आफ्ना विरोधका कार्यक्रम यथावत रहेको जनाएको छ।

मतदान गर्ने दिनसमेत प्रभावित पार्ने गरी लामो आम हडतालको कार्यक्रम सार्वजनिक गरिसकेको माओवादीले मध्यपश्चिमको दाङमा आयोजित दुइदिने शीर्ष नेताहरु सम्मिलित बैठकपछि बहिष्कार शान्तिपूर्ण रहने तर दमन गरे प्रतिकारमा उत्रने बताएको छ।

सशस्त्र द्वन्द्वकालका बेला माओवादीको पकड रहेको भनिएको मध्यपश्चिम क्षेत्रको दाङमा भएको नेकपा माओवादीको बैठकलाई कतिपयले चुनाव बहिस्कारका कडा रणनीति आउन सक्ने रुपमा हेरेका थिए।

तर संविधानसभाको निर्वाचनको मिति मंसिर ४ आउन डेढ महिना भन्दा कम समय बाँकी रहेका बेला भएको बैठकले निर्वाचन बहिष्कार गर्ने पुरानै कार्यक्रमहरु अनुमोदन गरेको माओवादी उपाध्यक्ष सीपी गजुरेलले बताए।

अनुमोदन

गजुरेलले भने, "हाम्रो पोलिटब्युरो बैठकले सार्वजनिक गरेको बहिष्कारको कार्यक्रम नै केन्द्रीय कमिटिले अनुमोदन गरेको हो।"

माओवादी पोलिटब्युरो बैठकले यसअघि तय गरेको चुनाव बहिस्कारको नीतिलाई विभिन्न क्षेत्रमा लगेर केन्द्रीय कमिटिबाट अनुमोदन गराउने नीति बमोजिम दाङ बैठक आयोजना गरिएको गजुरेलले जनाए।

दुई दिने बैठकपछि बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा माओवादी अध्यक्ष मोहन बैद्यले बहिष्कार शान्तिपूर्ण हुने बताए।

उनले भने, "बहिष्कार र मतदान दुबैको अधिकार जनतालाई छ। उनीहरु बल प्रयोग गरिरहेका छन्, हामीले त होइन नि।"

यथावत

जिल्ला जिल्लामा निषेधित क्षेत्र बनाउने, त्यसमा उम्मेदवारलाई प्रवेश गर्न नदिने लगायतका आफ्ना पूर्व घोषित कार्यक्रम यथावत रहेको माओवादीले जनाएको छ।

एउटा समूहले बहिष्कारका कार्यक्रम सन्चालन गरिरहेका बेला निर्वाचन आयोगले भने चुनावका औपचारिक कार्यक्रम अगाडि बढाउँदै लगेको छ।

निर्वाचनमा भाग लिने १२२ दललाई समानुपातिक निर्वाचनका प्रणालीका लागि यस अघि उम्मेदवार चिन्ह वितरण गरिसकेको आयोगले बिहीबार स्वतन्त्र उम्मेदवारलाई समेत चुनाव चिन्ह वितरण गरेको छ।