'अन्य परिचयपत्रको आधारमा मत दिन सकिन्छ'

  • 10 अक्टोबर 2013
parties
Image caption दलहरुले अनुरोध गरेपछि गत महिना निर्वाचन आयोगले मतदाता दर्ताका लागि एक साता समय थपेको थियो

मंसिर ४ मा हुने भनिएको चुनावका लागि मतदाता परिचयपत्र वितरण गर्न नसक्ने निष्कर्षमा पुगेपछि निर्वाचन आयोगले नागरिकता लगायतका अन्य परिचयपत्रलाई प्रयोग गरेर भए पनि मतदानको व्यवस्था गर्ने तयारी गरेको छ।

समयको अभाव र छपाइमा कुरो नमिलेपछि यस्तो अवस्था आएको एक जना आयुक्तले बताएका छन्।

विकल्प

फोटोसहितको मतदाता परिचयपत्रले नक्कली मतदाताले भोट हाल्न सक्ने चिन्ताहरुलाई धेरै हदसम्म सम्बोधन गर्ने ठानिएको थियो।

अब त्यस्तो परिचयपत्र वितरण गर्न नसक्ने अवस्थामा पुगेपछि मतदाता सूचीमा नाम भएकाहरुका लागि नागरिकता, राहदानी, चालक अनुमतिपत्र वा अन्य परिचयपत्रको आधारमा मतदान गर्न सकिने व्यवस्था मिलाइने निर्वाचन आयोगका आयुक्त रामभक्त पीबी ठाकुरले बताए।

उनले भने, "नागरिकता, ड्राईभिङ लाइसेन्स वा अन्य परिचय-पत्र र प्रमाण लिएर आउनुस् भनेर हामी विकल्प दिन सक्छौं। यसको लागि हामी आजै(बिहीवार) छलफल गर्छौं।"

स्वार्थ

फोटोसहितको परिचयपत्रका लागि आयोगले झण्डै दुईवर्ष अघिदेखि काम गर्दै आएको भए पनि चुनाव आउन झण्डै डेढ महिना बाँकी रहंदा समेत परिचयपत्र बनाउन नसक्ने अवस्थामा आयोग पुगेको छ।

त्यस पछाडिको कारणबारे आयुक्त ठाकुरले भने, "टेन्डरमा कसैको पैसा धेरै हुने, कसैको कम हुने। एउटालाई दियो, त्यसको गुणस्तर छैन। अर्कोलाई दियो, म‍ूल्यमा कुरो मिल्दैन। अन्तिममा एउटाले सस्तोमा बनाउंछु भन्यो तर उसले आफैले नगर्ने। अन्त गएर बनाएर ल्याउनु पर्ने। अब समयको कमी, गाउँ गाउँमा गएर बाँड्नु पर्ने भएकोले सायद हामीले गर्न सक्दैनौं भनेर विचार गरेको हो।"

तर विभिन्न व्यक्ति तथा समूहहरुको स्वार्थ र आर्थिक चलखेलका कारण मतदाता परिचयपत्र छाप्न ढिलाइ भएको आयोगकै अधिकारीहरुले अनौपचारिक रुपमा भन्ने गरेका छन्।