भारतको उडीसा राज्यमा समुद्री आंधी

  • 12 अक्टोबर 2013
समुद्री आंधी पायलिन
Image caption मानिसहरु आंधीबाट बच्न सुरक्षित स्थान तर्फ गैरहेका छन्

भारतमा, इतिहासमा नै सबैभन्दा शक्तिशाली मानिएको समुद्री आंधीले ल्याएको चर्को हावाहुरी र भारी बर्षाले त्यहांको पूर्वी तटीय क्षेत्रलाई प्रभावित तुल्याएको छ।

बंगालको खाडीस्थित पायलिन नामको समुद्री आंधीबाट बच्न चारलाख चालिस हजार भन्दा बढी मानिसहरु आआफ्नो घर छाडी सुरक्षित स्थल तर्फ लागिसकेका छन्।

वेग

उडीसा राज्यको केही भागमा हावाहुरीको वेग दुईसय किलोमिटर प्रतिघण्टामा पुगीसकेको छ।

भारतीय अधिकारीहरुले खतरासूचक रातो संकेत जारी गरीसकेका छन् र आफूहरु समुद्रीआंधीका लागि तयार रहेको बताएका छन्।

मौसम विभागका अधिकारीहरुको अनुमान अनुसार समुद्री आंधी जमिनको क्षेत्रमा प्रवेश गर्दा समुद्रको पानी तीन मिटरसम्म माथि आउन सक्छ।

तल्लो तटीय क्षेत्रमा बस्ने लाखौं मानिसहरुलाई सुरक्षित स्थानमा जान भनिसकिएको छ।

भय लाग्दो

उडीसाको राजधानी भुवनेश्वरदेखि तटीय क्षेत्रसम्म सबै पसलहरु बन्द छन् र सडकहरु सुनसान छन्।

Image caption अधिकारीहरुले आंधीका कारण समुद्रको पानी तीन मिटरसम्म माथि आउनसक्ने बताएका छन्

त्यहां रहेका बीबीसी हिन्दीका सम्बाददाता सलमान रावी भन्छन्, चर्को हावाहुरी चल्दा निस्कने आवाजले वातावरण भय लाग्दो बन्न पुगेको छ।

भू उपग्रहबाट लिइएका तस्वीरहरुले उक्त समुद्री आंधी समग्र बंगालको खाडीलाई नै ढाक्ने गरी फैलिएको देखाएका छन्।

भारतमा अहिले पर्वको समय भएतापनि सबै सरकारी छुट्टी रद्द गरिएको छ।

सन् १९९९ मा आएको महाआंधीबाट उडीसा राज्यमा दशहजार जना भन्दा बढीको ज्यान गएको थियो।

तर यसपल्ट आफूहरु बढी मात्रामा तयार रहेको अधिकारीहरुले बताएका छन्।