कतारमा सुरक्षित काम गर्ने वातावरणको माग

  • 12 अक्टोबर 2013
प्रदर्शनका सहभागीहरु
Image caption सहभागीहरुले कतारमा नेपाली कामदारहरुको स्थिति सुधार्न माग गरेका थिए

कतारमा काम गर्ने नेपाली लगायत लाखौं आप्रवासी कामदारहरुका लागि सुरक्षित काम गर्ने वातावरणको माग गर्दै लण्डनमा एउटा विरोध प्रदर्शन आयोजना गरिएको छ।

लण्डनस्थित कतारी राजदूतावास बाहिर शनिबार आयोजित प्रदर्शनका सहभागीहरुले कतारमा कार्यरत आप्रवासीी कामदारहरुको मृत्युका घटनाहरुबारे छानबीन गर्न पनि माग गरेका थिए।

"आप्रवासी कामदारहरुमाथिको शोषण बन्द गर, दासताका विरुद्ध एकजुट हौं" जस्ता नाराहरु लगाउंदै नेपाली, ब्रिटिश तथा अन्य मुलुकका नागरिकहरुले पनि लण्डनस्थित कतारी राजदूतावास बाहिर झण्डै दुई घन्टा प्रदर्शन गरेका थिए।

हातमा प्लेकार्ड बोकेका उनीहरुले कतारको चर्को गर्मीमा काम गरिरहेका लाखौं आप्रवासी कामदारहरुकालागि सुरक्षित काम गर्ने वातावरण बनाउन माग गरेका थिए।

प्रदर्शन

प्रदर्शनका आयोजकहरुमध्ये एक श्रेय पौडेलले भने, “खासमा कतार सरकारले जिम्मेवारी बोध पनि गर्नुप-यो। त्यहाँ काम गरिरहेका लाखौं कामदारहरु कसरी बाँचीरहेका छन्, कम्पनीहरुले तिनीहरुको पासपोर्ट लिइदिएका छन् कि? यस्ता कुराहरुलाई अनुगमन गर्ने निकाय कतार सरकारले बनाउनु प-यो।”

सन् दुई हजार बाइसमा कतारमा आयोजना हुनगैरहेको विश्व कप फुटबलकालागि निर्माण कार्यमा संलग्न कैयौं नेपालीहरुको मृत्यु भएको भन्ने समाचार एउटा ब्रिटिश समाचारपत्र दि गार्डियनले छापे पछि त्यहाँ कार्यरत आप्रवासी कामदारहरुको अवस्थाबारे विश्वव्यापि ध्यानाकर्षण भएको थियो।

उसले त्यहाँ नेपालीहरुलाई दासजस्तो वातावरणमा काम लगाइएको पनि जनाएको थियो।

कतार सरकारले ती आरोपहरुको खण्डन गरेको छ।

त्यसो त कतार सरकारको विरोध गर्दा त्यहाँ कार्यरत लाखौं नेपालीहरुको रोजगारी जोखिममा पर्ने हो कि भन्ने चिन्ताहरु व्यक्त नगरिएका होइनन्।

आशँका

तर विरोध प्रदर्शनका एकजना सहभागी रोशन सापकोटाले ती आशँकाहरु आधारहीन रहेको बताए।

उनले भने, “कतारले आफ्नो देशमा काम गर्ने कामदारहरुलागि राम्रो वातावरण बनाउन अन्तर्राष्ट्रिय सन्धिहरुमा पनि सही गरेको छ। त्यो माग्दा खेरि अप्ठेरो हुन्छ, गाह्रो हुन्छ भन्नु चाहिं साह्रै नहुने कुरा हो।”

नेपाली लगायत कतारमा कार्यरत लाखौं आप्रवासी कामदारहरुलाई उनीहरुको हकबारे सूचित गर्न अन्तर्राष्ट्रिय ट्रेड यूनियन संगठनहरुलाई त्यहाँ जान दिन गरिएको माग प्रति विपक्षी लेबर पार्टीका एकजना सांसद जोन म्याकडोनेल लगायत विभिन्न ब्रिटिश ट्रेड यूनियनहरुले पनि ऐक्यवद्धता जनाएका छन्।

गत बिहीबार न्यूयोर्कस्थित कतारी नियोग बाहिर पनि विरोध प्रदर्शन आयोजना गरिएको थियो।

कतार सरकारले विश्व कप फुटबल अघि त्यहाँ कार्यरत कामदारहरुको काम गर्ने स्थितिमा सुधार ल्याउन आफुले कदमहरु चाल्ने बताएको छ।