भुटानी दशैं

  • 14 अक्टोबर 2013
भुटानी बालबालिका
प्रवासमा पनि भुटानी समुदायले दशैं तिहार जस्ता चाड उत्साहका साथ मनाउने गरेका छन् (फोटो सौजन्य: बेकी फिल्ड)

गएको ५ वर्षदेखि अमेरिकाको फिनिक्स, एरिजोनामा बसोबास गरिरहेकी गँगा बराल बर्षदिन पछि आइपुगेको चाड दशैं मनाउन निकै उत्साहित छिन्।

भुटानी अधिकारीहरुले बारंबार धम्की दिन थालेपछि झण्डै दुई दशक अघि सपरिवार पूर्वी नेपाल आइपुग्दा उनी तेह्र वर्षकी थिइन्।

तर दागानास्थित दक्षिणी भुटानमा मनाएको दशैंको झझल्को उनलाई अझै आइरहन्छ।

“शिविरमा बस्दा पनि आफ्नो चाडबाड मनाउने गरिन्थ्यो। भुटान र नेपालमा फरक चाहिं हामी दहीले मुछेर सेतो अक्षता लगाउँथ्यौं। तर नेपालमा चाहिं रातो अबीरले मुछेर टिका लगाउने चलन छ,” उनले भनिन्।

झण्डै सोह्र, सत्र वर्ष पूर्वी नेपालस्थित शरणार्थी शिविरमा बिताएर अहिले सात समुद्र पारी अमेरिका आएपनि दशैं, तिहार जस्ता चाडपर्व उत्साहका साथ मनाउने गरेको उनले बताइन्।

“अमेरिकामा पनि हाम्रो भुटानी समाज छेउँछाउँमै बस्ने चलन छ। दशैं, तिहार, तीजजस्ता चाडपर्व हामी उत्साह साथ मनाउँछौं। नानीहरु पनि खुसी भएको देखिन्छ,” बरालले भनिन्।

पुनर्वास

अमेरिकामा पुनर्वास गराइएका भुटानी शरणार्थीहरुको संख्या बढ्दै जांदा त्यहाँ सामुदायिक गतिविधिहरु पनि बढ्दै गएका छन्।

बालबालिकाहरुकालागि नेपाली भाषा कक्षा सन्चालन गर्ने देखि लिएर दशैं, तिहार जस्ता चाड बाड रमाइलोसंग मनाउने गरेको हाल न्यू ह्याम्पशायर राज्यमा बसोबास गरिरहेका भगीरथ खतिवडाले बताए।

“हामी यहाँ प्रत्येक बर्ष दुर्गा पुजा लगाउँछौं। देउसी, भैलो कार्यक्रम गर्छौं। हामीले गत वर्ष तीन दिन देउँसी, भैलो खेलेर जुटाएको रकमले हाम्रा बृद्ध आमा, बुवालाए सम्मान गरेका थियौं,” उनले भने।

संयुक्त राष्ट्र संघ, आप्रवसन संबन्धी अन्तर्राष्ट्रिय संगठन तथा विभिन्न पश्चिमा मुलुकहरुको सहयोगमा अहिलेसम्म विभिन्न पश्चिमा मुलुकहरुमा करीब त्रियासीहजार भुटानी शरणार्थीहरुलाई पुनर्वास गराइसकिएको छ।

संयुक्त राज्य अमेरिकाको विदेश मन्त्रालयद्वारा प्रकाशित तथ्याँक अनुसार गएको सेप्टेम्बर २०१३ सम्ममा सत्तरी हजार भन्दा बढी भुटानी शरणार्थीहरुलाई अमेरिकामा पुनर्वास गराइसकिएको खतिवडाले बताए।

तीमध्ये धेरैजसो पेन्सिल्भानिया, ओहायो, टेक्सास र न्यूयोर्क राज्यमा बसोबास गरिरहेका छन्।

अमेरिकाको तुलनामा बेलायतमा पुनर्वास गराइएका भुटानी शरणार्थीहरुको संख्या सानो भएतापनि दशैं, तिहारजस्ता चाड पर्व उनीहरुले पनि उत्साहका साथ मनाउने गरेका छन्।

तर कामको चटारोले गर्दा समय मिलाएर भुटानी तथा नेपाली समुदाय भेला भै रमाइलो गर्ने गरेको गएको ६ वर्षदेखि बेलायतको डन्कास्टरमा बसिरहेकी निर्मला सुवेदीले बताइन्।

“भर्खरै हामी साथीभाइहरु भेला भएर दशैं मनायौं। विभिन्न थरि खाना खाएर, नाचगान गरेर मनाइयो,रमाइलो भयो,” उनले भनिन्।

शिविर

हाल बेलायतको शेफिल्डस्थित शरणार्थी पुनर्वास कार्यक्रममा कार्यरत निर्मला सुवेदी पनि सानो हुँदा भुटानमा र पछि पूर्वी नेपालको शरणार्थी शिविरमा मनाएको दशैं झल्झली सम्झन्छिन्।

“सानोमा दशैंका लागि धेरै पर्खन्थ्यौं। नयाँ लुगा लगाउने, पिङ खेल्ने सबै याद छ। क्याम्प मा पनि पुरानै पारा नै हुन्थ्यो। अहिले बाबा, आमा अमेरिका गैसक्नुभयो। त्यहाँ दिदीमात्रै हुनुहुन्छ,” उनले भनिन्।

सन् असीको दशकको अन्त्यतिर नागरिकतासंबन्धी नयाँ कानुन ल्याएर नेपाली भाषी भुटानीहरुमाथि सरकारले कडाइ गर्न थालेपछि दशौं हजार भुटानीहरु आफु जन्मेको, हुर्केको भूमि छाडेर भारतीय भूमि हुँदै नेपाल आए।

पूर्वी नेपालका विभिन्न शिविरहरुमा बसोबास गरिरहेका एकलाख भन्दा बढी भुटानीहरुमध्ये झण्डै त्रियासीहजार भुटानीहरुलाई अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, नर्वे, न्युजिल्याण्ड लगायतका मुलुकहरुमा पुनर्वास गराइ सकिएको छ र यो क्रम अझै जारी छ।

आफ्नो जन्मभूमिभन्दा हजारौं माइल टाढा पुगेपनि भुटानी समुदाय आफ्नो पहिचान र संस्कृति जोगाउन लागिपरेका देखिन्छन्।

दशैं, तिहार जस्ता चाडपर्वले उनीहरुको त्यस्तो प्रयासलाई मदत नै पुगिराखेको पाइन्छ।