ठूला दलहरु अझै अनिर्णित

  • 13 अक्टोबर 2013
Image caption संविधानसभाको मतदानको मिति नजिकिए पनि दलहरु अझै महत्वपूर्ण विषयमै अलमलमा देखिन्छन्

संविधानसभाको दोस्रो चुनाव आउन करीब पाँच सातामात्रै बाँकी रहँदा तीन ठूला दलहरुले अझै घोषणापत्र जारी गर्न र समानुपातिकको सूची तय गर्न सकेका छैनन् ।

प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी दर्ता गरेर निर्वाचन आयोगको कार्यतालिका अनुसार दलहरुले हतारहतार असोज १८ गते समानुपातिकको सूची बुझाएका थिए ।

तर त्यसमा फेरबदल गर्न पाउने समय दुईदिनमात्रै बाँकी रहँदा प्रमुद दलहरु कुनै निर्णयमा पुग्न सकेका छैनन् ।

चुनावका लागि जनतासँग मत माग्ने मुख्य आधार घोषणापत्र जारी कहिले हुने भन्नेमा पनि उनीहरु अन्यौलमै देखिन्छन् ।

छलफल

चाडबाड लगत्तै हुने आसन्न चुनावका लागि अझै घोषणापत्र जारी नभएको र समानुपातिकको सूचीसमेत फेरबदल गरी यकिन गर्न नसकेका बेला बडा दशैँको टिकाको अघिल्लो दिन आईतबार नेकपा एमालेले यसै विषयमा छलफल गर्न बैठक डाकेको थियो ।

समानुपातिकको सूची र घोषणापत्रकै विषयमा दिनभर छलफल भए पनि निर्णयमा पुग्न नसकेको एमाले नेता प्रदीप ज्ञवालीले बताए ।

"छलफल जारी छ संभवत: पर्सी सम्म टुंगोमा पुग्ला," उनले भने ।

एकीकृत नेकपा माओवादीले पनि निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिकको सूची बुझाउनु पर्ने मिति नजिकिँदै गर्दा टीकाको दिन बैठक बसेर छलफल गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

"सोमबार बैठक बसेर पार्टीले समानुपातिकको सूची र घोषणापत्र कसरी, कहिले जारी गर्ने टुंगो लगाउँछ, मलाई लाग्छ यही महिनाभित्र घोषणापत्र जारी हुन्छ, " सापकोटाले भने।

तीन ठूला दल मध्यको अर्को नेपाली कांग्रेसले सोमबारसम्म दशैंकै माहोल भएकाले मंगलबार छलफल गरी समानुपातिकको सूची टुंगो लगाउने बताएको छ ।

आलोचना

घोषणापत्रको तयारी ढिलो भइसकेको बताउँदै कांग्रेस नेता विमलेन्द्र निधिले त्यसको मस्यौदा हातहातमा आइसकेकोले एउटा बैठक बसेर त्यसलाई अन्तिम रुप दिने बताए ।

काठमाडौंस्थित बीबीसीकी एकजना संवाददाता भन्छिन्, मतदानको दिन नजिकिँदै जाँदा समेत उम्मेदवारी चयन र घोषणापत्रकै टुंगो लगाउन नसक्दा दलहरु चुनावप्रति जिम्मेवार नदेखिएको भन्दै आलोचना हुन थालेको छ ।