इटलीले नौसैनिक गश्ती बढाउने

  • 14 अक्टोबर 2013
आप्रवासीहरु
Image caption हरेक महिना सैयौंको संख्यामा आप्रवासीहरु इटलीको सीमावर्ती क्षेत्रमा आइपुग्ने गरेका छन्

उत्तरी अफ्रिकाबाट कोचाकोच यात्रुहरुलिएर आइरहेका डुंगाहरु दुर्घटनाहुँदा सैयौंको ज्यान गएपछि इटलीले दक्षिणी भूमध्यसागरमा नौसैनिक गश्ती बढाएर तेब्बर गर्न लागेको जनाएको छ।

हवाइजहाजबाट गरिने गश्तीको संख्या पनि बढाइने छ।

सिसिली, माल्टा तथा सैयौं मानिसहरुको ज्यान जानेगरी यसै महिना डुँगा दुर्घटना भएको लिवियाको तटवर्ती क्षेत्रमा गश्तीहरु केन्द्रित हुनेछन्।

प्रधानमन्त्री एनरिको लेट्टीले भने, "सिसिलीको दक्षिणी समुद्री क्षेत्रबाट हवाइ तथा नौसैनिक गश्तीको काम शुरु हुनेछ।"

गत शुक्रबार माल्टा तथा इटलीको लाम्पेडुसा टापुको बीचमा एउटा डुँगा डुब्दा कम्तीमा तेंत्तीस जनाको ज्यान गएको थियो।

एक साता अघि लाम्पेडुसाको तटपारी अर्को ठलो डुँगा डुब्दा साढे तीनसय भन्दा बढी आप्रवासीहरुको ज्यान गएको थियो।

आप्रवासी

आइतबार राती लाम्पेडुसा टापुमा एउटा डुँगामा चढेका एकसय सैंतीसजना आप्रवासीहरु सकुशल आइपुगे।

इटली र माल्टाले भनेका छन्, उनीहरुले आउँदो महिना हुनलागेको शिखर सम्मेलनमा आप्रवासीहरुलाई सघाउन युरोपेली संघका सदस्यहरुलाई सघाउने छन्।

सिसिली नगरका एकजना वासिन्दा साल्भेटोर पेकोरारोले भने, “सरकारले अरु बढी पहल गर्नुपर्छ। आप्रवासीहरुको मृत्यु भैसकेपछि त्यहाँ उद्धार गर्न जानुको कुनै अर्थ छैन। ती पनि हामीजस्तै मानिस हुन्। हामीमा कुनै भिन्नता छैन।”

यसैबीच आप्रवासीहरुसंग काम गर्ने निकायहरुको संख्या बढाउने इटलीको निर्णयको संयुक्त राष्ट्र संघीय शरणार्थी संस्थाले स्वागत गरेको छ।

लाम्पेडुसास्थित उक्त संस्थाका एकजना प्रवक्ताले भने, इटलीले निकै प्रयास गरिरहेको छ र शुरुमा आप्रवासीहरुलाई राख्‍ने उसको क्षमता दोब्बर पार्ने आश्वासन दिएको छ।

राष्ट्र संघले संकलन गरेको तथ्याँक अनुसार अहिलेसम्म तीस हजार भन्दा बढी आप्रवासीहरु समुद्री मार्ग हुँदै इटली तथा माल्टामा आइपुगेका छन्।

इटलीले प्रत्येक वर्ष आफ्नो सीमावर्ती क्षेत्रमा आइपुग्ने हजारौं आप्रवासीहरुको व्यवस्थापनमा सघाउन यसअघि पनि युरोपेली संघलाई आह्वान गरेको थियो।