अमेरिकी सिनेटरहरु सहमतिप्रति आशावादी

  • 15 अक्टोबर 2013
‌राष्ट्रपति ओवामा
Image caption बजेट संकटका कारण सेवा बन्द हुने वर्तमान स्थितिलाई राष्ट्रपति ओवामाले अनावश्यक भनेका छन्

सहमति जुटाउन भएको पछिल्लो वैठकपछि बोल्दै अमेरिकी सिनेटमा रहेका डेमोक्रेट र रिपब्लिकन नेताहरुले मंगलबारसम्ममा सहमति हुन सक्ने सम्भावना रहेको बताएका छन्।

तर दुबै पक्षले सहमतिको निम्ति अझै धेरै काम गर्नु पर्ने बताएका छन्।

अमेरिकामा बजेटबारे सहमति जुट्न नसक्दा आइपरेको संकट तेस्रो सतामा प्रवेश गरेको छ।

कयौ दिनदेखि सरकारी सेवाहरु आमसिक रुपमा बन्द छन्।

तर संकट समाधान गर्नको निम्ति वार्ताहरु जारी छन्।

‘निकै प्रगति’

सिनेटमा रहेका वरिष्ठ डेमोक्रेट नेता ह्यारी रिडले कर्जा संकट र बन्द सरकारी सेवाका विषयमा भएका वार्तामा निकै प्रगति भएको बताए।

“हामी समस्या समाधानको अन्तिम बिन्दुमा पुगिसकेका छैनौं, तर धेरै प्रगति भएको छ, सबैले धैर्य गनु पर्नेछ, भोलिको दिन पक्कै पनि राम्रो हुने छ।”

उनका रिपब्लिकन समकक्षी मिच मक्कनेलले पनि वार्ता राम्रो भएको संकेत गरे।

“केहि दिनदेखि हामीबीच कसरी अघि बढ्ने भन्नेबारे सकारात्मक छलफलहरु भएका छन्, ती अझै जारी छन्।

“अब दुबै पक्षको लागि राम्रो परिणाम हासिल हुने कुरामा म उहाँहरु जस्तै आशावादी छु।”

तर दुबै पक्षले सहमति जुटाउन अझै धेरै काम गर्न बांकी रहेको बताएका छन्।

थप छलफल

अर्को वर्षसम्म नै कर्जा सापटी लिइरहने र सरकारी घाटा कम गर्नेबारे थप छलफल गर्ने प्रस्तावमाथि उनीहरुले छलफल गरिरहेको बुझिएको छ।

कर्जाको सीमा बढाउनेबारे यसै साताभित्र सहमति नभए कर्जा संकट झनै गहिरिने चिन्ता घटेको छैन।

अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफले अमेरिकी कर्जा संकटले विश्वव्यापी असर पार्न सक्ने चिन्ता व्यक्त गरेको छ।

बिहिबारसम्ममा अमेरिकाले आफ्नो सरकारी खर्च धान्नको लागि कर्जा सापटीको सीमालाई बढाउनु पर्ने छ।