परमाणु वार्ताप्रति इरान र विश्व शक्ति राष्ट्रहरुको सावधान प्रतिक्रिया

  • 15 अक्टोबर 2013
इरान र छ शक्ति राष्ट्रका वार्ताकारहरु
Image caption जिनीभा आरम्भ भएको परमाणु वार्ताबाट तत्काल सहमतिको अपेक्षा गरिएको छैन

विश्व शक्ति राष्ट्रहरु र इरानले हसन रुहानी इरानको राष्ट्रपति बने यता तिनीहरुबीच भएको पहिलो परमाणु वार्ताप्रति सावधान प्रतिक्रिया व्यक्त गरेका छन्।

इरानका वार्ताकारहरुले देशको परमाणु कार्यक्रमका बारे विश्व शक्ति राष्ट्रहरुसंगको पहिलो चरणको वार्तामा सकारात्मक वातावरण बनेको बताएका छन्।

वार्ता टोलीको नेतृत्व गरिरहका इरानका उपविदेशमन्त्रीले वार्तामा इरानले प्रस्तुत गरेका विचारहरुप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन्।

स्वीटजरल्याण्डको जिनीभामा भैरहेको वार्तास्थलबाट युरोपेली संघका एकजना प्रवक्ताले बीबीसीलाई बताए अनुसार इरानले ठोस प्रस्तावहरु अघि सार्न जरुरी छ।

मंगलबार आरम्भ भएको वार्तामा इरानको परमाणु कार्यक्रमका बारे विश्वका विभिन्न छ वटा शक्ति राष्ट्रका प्रतिनिधिहरु सहभागी छन्।

पश्चिमा जगत इरानले परमाणु अस्त्र विकसित गर्न खोजीरहेको ठान्दछ भने इरानले आफ्नो परमाणु कार्यक्रम शन्तिपूर्ण प्रयोजनका लागि भएको बताउंदै आएको छ।

इरानमा गत अगस्ट महिनामा राष्ट्रपति हसन रुहानीले पदभार सम्हालेयता संयुक्त राष्ट्र संघका पांच स्थायी सदस्य राष्ट्र र जर्मनीसंग इरानले गर्न लागेको औपचारिक वार्ताको यो पहिलो चरण हो।

अभिवादन

वार्ताको आरम्भमा दुवै पक्षका प्रमुख वार्ताकारहरुले एक अर्कालाई परैबाट टाउको झुकाएर अभिवादन गरेका थिए।

वार्ता कक्षमा इरानी प्रतिनिधि जवाद जरिफले एकघण्टा लामो "पावर प्वाइन्ट" प्रस्तुति गर्दै इरानका धारणहरु राखेका थिए।

बैठकपछि पत्रकारहरुसंग बोल्दै इरानका उपविदेशमन्त्री अब्बास आरकचीले विश्व शक्ति राष्ट्रले आफूहरुको प्रस्तावलाई सकारात्मक रुपमा लिएको बताएका थिए।

उनले आफूहरुले वार्ताबाट देखिने प्रकृतिको नतिजाको अपेक्षा गरेको बताए। “हामी यो प्रकृयाप्रति गम्भीर छौं। हामी यहां खाली देखाउनका लागि मात्र आएका होइनौं, हामी समय बर्बाद गर्न नभई इरान र अर्को पक्षबिच वास्तविक लक्ष्यहरु हासिल गर्ने गरी वार्ता गर्न आएका हौं।

"र हामीले जुन योजना प्रस्तुत गरेका छौं त्यसबाट कुनै उपलब्धी हासिल हुन सक्नेमा हामी विश्वस्त छौं।“ इरानी उपविदेशमन्त्रीको भनाई थियो।

विशेष कदम

अन्तर्राष्ट्रिय वार्ताकारहरु तेहरानले परमाणु अस्त्र कहिल्यै पनि बनाउन नसक्ने गरी विशेष कदमहरु चालोस् भन्ने चाहन्छन्।

बदलामा तिनीहरुले हालैका बर्षहरुमा इरान विरुद्ध लगाइएका केही प्रतिबन्धहरु हटाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सन् २००६ देखि संयुक्त राष्ट्र संघको सुरक्षा परिषदले इरान विरुद्ध विभिन्न प्रतिबन्धहरु लगाएको छ।

Image caption वार्तामा सहभागीहरुले आरम्भ सकारात्मक भएको प्रतिक्रिया दिएका छन्

त्यसमा इरानको परमाणु शुद्धिकरण परियोजनासंग सम्बद्धहरुको सम्पत्ति रोक्का गर्ने देखि लिएर यात्रा प्रतिबन्धसम्मका प्रावधानहरु छन्।

अमेरिका र युरोपेली संघले लगाएका बेग्लै प्रतिबन्धहरुले इरानको उर्जा र बैंकिंग क्षेत्रलाई निशाना बनाएका छन् परिणाम स्वरुप उक्त देशको तेलमा आधारित अर्थतन्त्र पंगु भएको छ।

प्रस्ताव

इरानको सरकारी समाचार एजेन्सीका अनुसार तेहरानले वार्तामा आफूहरुको युरेनियम शुद्धिकरणको स्तरलाई कम गर्ने प्रस्ताव गरेको छ जुन राष्ट्र संघको एउटा प्रमुख माग हो।

बीबीसीका इरान सम्बाददाता जेम्स रेनोल्ड्स् भन्छन् जिनीभामा भेला भएका कुटनीतिज्ञहरुले आफू इरानको धारण सुन्न खुला रहेको बताएका छन्।

तर तिनीहरुले उक्त इस्लामी गणतन्त्रले पक्का र रचनात्मक प्रस्तावहरु ल्याउनु पर्नेमा पनि जोड दिएका छन्।

वार्तामा तत्काल कुनै सहमति हासिल हुने अपेक्षा कुनै पनि पक्षले गरेको छैन।