मतदान पर सर्यो

  • 16 अक्टोबर 2013
Image caption राष्ट्रपति बाराक ओवामाले बजेटको विवादमा सहमतिमा पुग्ने सम्भावना अझै रहेको बताएका छन्।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटीभ्सले सरकारको कर्जा सीमा बढाउने र आंशिक वन्द सरकारी निकायहरु खोल्ने विषयमा रिपब्लिकनहरुले राखेको प्रस्तावमाथिको मतदान पर सारेको छ।

कर्जासम्बन्धी निर्णय गर्न दुई दिन भन्दा कम समयसीमा बांकी छंदा रिपब्लिकनहरुको नियन्त्रणमा रहेको उक्त अमेरिकी सदनको त्यस्तो निर्णय आएको छ।

विफल

यदि बिहीबारसम्म कर्जा सीमा नबढे आफ्ना खर्चहरु तिर्न आफू असक्षम हुने अमेरिकी सरकारले बताउंदै आएको छ।

उक्त समयसीमा नजिकिदैं जांदा डेमोक्र्याट र विपक्षी रिपब्लिकनहरुबीच छलफलहरु तीव्र भएपनि अहिलेसम्म निकास निस्कन सकेको छैन।

रिपब्लिकनहरुले छलफल जारी राख्ने बताएपनि अहिलेका मस्यौदाहरुमा उक्त दलका दक्षिणपन्थी सदस्यहरुबाट पर्याप्त समर्थन जुटाउने प्रयासहरु विफल भएको देखिएको छ।

प्रयास जारी

तल्लो सदनमा रिपब्लिकनका नेता जोन बेनरले भने, "ओबामाकेयरमार्फत सबै जनतालाई कसरी निष्पक्षता दिन सकिन्छ भनेरे मैले द्धिदलीय सहमतिका लागि प्रयास गरेको छु। हामीले यसबारे के गर्छौ भन्ने अन्योल नै छ तर हामी दुवै पक्ष यसमाथिको छलफललाई जारी राख्नेछौं।"

रिपब्लिनकहरुले स्वास्थ्य सेवासम्बन्धी उक्त कानून ओबामाकेयरमा संशोधन वा ढिलाइ गर्न चाहिरहेका छन्।

ह्वाइटहाउस र डेमोक्र्याटहरुले भने त्यस्तो प्रस्ताव अस्वीकार गरेका छन्।

अब माथिल्लो सदन सिनेटले गहिरिदै गएको संकट मोचनका लागि आफ्नै योजना लागू गर्न पुन: सहमतिको प्रयास सुरु गर्नेछ।

यसैबीच जारी गतिरोधले शेयर बजारमा गिरावट आएको छ भने अमेरिकी ऋणदर स्तर क्रेडिट स्टायटस नकरात्मक मूल्यांकनको सूचीमा धकेलिने अवस्था आएको छ।