दमस्कस वरपरको क्षेत्रमा खाद्यान्न 'अभाव’

  • 19 अक्टोबर 2013
rebel
Image caption दमास्कसबाहिरको क्षेत्रमा सिरियाली विद्रोही र सरकारी सेनाबीच महिनौदेखि संघर्ष भइरहेको छ

विद्रोहीहरुको नियन्त्रणमा रहेको सिरियाको राजधानी दमस्कसको बाहिरी क्षेत्रमा सरकारी सेनाले शुरु गरेको कारवाहीको अमेरिकाले कडा आलोचना गरेको छ ।

चालु द्वन्द्वले संपर्कबाट बाहिर भएका सर्वसाधारणलाई तत्काल मानवीय सहयोग उपलब्ध गराउन जाने अनुमति दिन अमेरिकाले सिरियाली सरकारसंग माग गरेको छ।

‘खाना छैन’

अमेरिका भन्छ, सिरियामा महिनौंदेखि चलिरहेको यो लडाइका कारण राजधानी दमस्कस वरपरका क्षेत्रमा रहेका मानिसहरुलाई खानेकुरा, पिउने पानी तथा औषधीको अति नै खाँचो परिसकेको छ।

उक्त अमेरिकी भनाइ पुष्टि हुने ढंगले त्यस क्षेत्रमा रहेकी एक जना विपक्षी समर्थक भन्छिन् “खाना दुर्लभ भइसक्यो। यदि पाइ हालेमा त्यो जस्तो सुकै भए पनि अति नै महंगो हुने गरेको छ। त्यसैले यो वा त्यो खाने भनि छान्ने सुविधाको त कुरै छैन।”

‘भोकै बस’

तर विपक्षीहरुको नियन्त्रणमा रहेका ती क्षेत्रमा कारबाही गरेको सिरियाको सरकारी सेनाले भनेको छ, ती क्षेत्रमा रहेका विद्रोहीहरुले कि त आत्मसमर्पण गर्नुपर्छ अन्यथा भोकै बस्नुपर्छ ।

प्रभावित क्षेत्रहरु मध्येको एक यारमोउकबाट बीबीसीलाई प्राप्त दृश्यहरुमा त्यहाँ रहेका मानिसहरु परिवार सहित पर्याप्त खानेकुरा प्राप्त गर्नका लागि संघर्षरत रहेको देख्न सकिन्छ ।

अमेरिकाले राष्ट्रपति बसर अल असदको निवासबाट केही किलोमिटरकै दूरीमा बालबालिकाहरु खानाको अभावमा कुपोषणको शिकार भइ मरिरहेका विवरणहरुलाई उद्धृत गरेको छ ।

यसअघि मुसलमान धर्मगुरुहरुले कुकुर र बिरालोहरु पनि खान धार्मिक अनुमति जारी गरेका थिए।