महत्वाकांक्षी घोषणापत्र जारी गर्ने रवैयाको आलोचना

  • 21 अक्टोबर 2013
Image caption संविधानसभाको निर्वाचनमा दलहरु आवधीक निर्वाचनको शैलीमा प्रस्तुत भएको भन्दै तीनको आलोचना भएको छ

असम्भव देखिने योजनाहरु समेट्दै घोषणापत्र जारी गरेका राजनीतिक दलहरुले संविधानसभाको चुनावलई आवधीक निर्वाचन झैं बनाएको कतिपय विश्लेषकहरुले बताएका छन्।

तर जनता माझ जानको लागि केही न केहि योजना हुनै पर्ने भएकोले यसो गर्नु परेको दलका नेताले बताएका छन्।

राजनीतिक दलहरुले पुर्वाधारहरु तयारै नगरी आफ्ना चुनावी घोषणापत्रमा पुरा गर्नै नसकिने ठुला ठुला प्रतिबद्धताहरु जनाएको कतिपयको बुझाई छ।

आवधीक निर्वाचन

आसन्न संविधानसभाको चुनाव नेताहरुका लागि आवधीक निर्वाचन जस्तै बन्न गएकोले यस्तो भएको राजनीतिक विश्लेषक निलाम्बर आचार्यले बताए।

उनले भने, "नाम संविधानसभा भनियो तर यो आवधीक निर्वाचन नै हो, पाँच वर्ष पुरा भएपछि अर्को निर्वाचन हुनै पर्छ चाहे जे सुकै नाम दिउँ।"

संविधान निर्माण भन्दा पनि सत्ता प्राप्तिमा बढि केन्द्रित भएकोले प्रचारबाजीका लागि दलहरुले यस्ता महत्वाकांक्षी नारा अघि सारेको अर्का राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण खनालले बताए।

उनले भने, "यो राजनीति हो, राजनीतिमा प्रचारको पक्ष व्यापक हुन्छ, दलहरुको व्यवहार हेर्दा आवधीक निर्वाचनको चरित्र अत्याधिक भएर आयो।

संविधान सभाको चरित्र गौण हुंदै गइरहेको छ, उहाँहरुको सबै व्यवहार सत्ता प्राप्तिमै केन्द्रित देखिन्छ।"

केन्द्रमा संविधान

एकिकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले जनता सामु फेरि जाँदा प्रतिवद्धता जनाउनु पर्ने भएकोले दीर्घकालिन योजना अघि सारिएको बताए।

प्रवक्ता सापकोटाले भने, "गरीवी छ, वेरोजगारी छ, यसको अन्त्य गर्नका लागि फेरि जनतामा जाने बेलामा प्रतिवद्धता जनाउनै पर्‍यो।

तर केन्द्रमा त संविधान निर्माणलाई नै राखेका छौं नि।"

तर आफैले तोकेको अवधिभित्र पुरा गर्न नसकिने वाचाहरु घोषणापत्रमा सार्वजनिक गरेर दलहरुले फेरि जनतालाई झुक्याउन खोजेको भन्दै कतिपयले आलोचना गरेका छन्।