अष्ट्रेलियामा भिषण डढेलो झन् फैलने चिन्ता

  • 21 अक्टोबर 2013
आगलागी
Image caption अधिकारीहरुले तीनवटा स्थानका डेढेलोले आगामी दिनमा ठूलो रुप लिन सक्ने चेतावनी दिएका छन्

न्यु साउथ वेल्स राज्यका भिन्ना भिन्नै स्थानमा लागेको डढेलो फैलिएर एउटै भयानक डढेलोमा परिणत हुने र सयौं किलोमिटरसम्म फैलने खतरा रहेको भन्दै अष्ट्रेलियाली अधिकारीहरु चिन्तित भएका छन्।

ग्रामीण आगलागी नियन्त्रण सेवाका अनुसार आगो नियन्त्रकहरु यो ‘त्रासदिपूर्ण स्थिति’ संग जुधिरहेका त छन् तर गर्मी तथा हुरीका कारण आगामी दिनहरुमा स्थिति झन खराब हुने बताईएको छ ।

केहि दिनदेखि फैलिरहेको भिषण वन डढेलोको कारण उत्पन्न खराब अवस्थासंग जुध्न अग्नी नियन्त्रकहरुले तयारी गरिरहंदा न्यू साउथ वेल्स राज्यमा संकटकालीन स्थितीको घोषणा गरिएको छ।

यस्तो घोषणापछि अधिकारीहरुलाई, मानिसहरुलाई तिनीहरुको घरबाट हटाउन र आवश्यक परेको बेला विजुली आपूर्ति बन्द गर्ने अधिकार प्राप्त भएको छ।

संकटकाल

उक्त राज्यमा दशकौंपछिको सबैभन्दा खराब डढेलोका कारण हालसम्म दुईसय भन्दा बढी घरहरु नष्ट भैसकेका छन् भने कतिपय ठाउंमा आगो अनियन्त्रीत नै छ।

आगामी दिनमा तापक्रम अरु बढ्ने र हावाको वेग पनि चर्कने मौसम हुने हुंदा त्यसबाट डढेलोको समस्या अझ कठीन बन्ने देखिएकोले संकटकालीन स्थितीको घोषणा गरिएको हो।

केही दिन मौसम ठण्डा हुंदा अग्नी नियन्त्रकहरुले सुस्ताउन पाएका थिए, तर गर्मी फेरि फर्कीएको छ।

आउंदो हप्ता विशेष अप्ठ्यारो र खतरनाक हुने देखिएको छ भने अब पानी पर्ने आशा पनि बिलाएको छ।

सिड्नी भन्दा पश्चिममा पर्ने ब्लु माउन्टेन्स क्षेत्रमा सबैभन्दा खराब प्रभाव परेको छ जहां अझै पनि आगो नियन्त्रणमा छैन।

राज्यका अधिकारीहरुले हालको स्थिती चालिसबर्ष यताको सबैभन्दा खराब भनेका छन्।

न्यु साउथ वेल्सको ग्रामीण अग्नी नियन्त्रण सेवाका अधिकारी, एलेक्स चेस्सर आफूहरुले सामना गर्नु परिरहेको चुनौती निकै ठूलो भएको बताउंछन्।

फैलदैं

उनी भन्छन्,“हामीले नियन्त्रणमा लिन खोजीरहेको वन डढेलोको आकार विशाल छ। स्टेट माइन आगलागीले झण्डै ३०५ किलोमिटरको गोलाकार क्षेत्र ढाकेको छ।“

न्यु साउथ वेल्सका सरकार प्रमुख ब्यारी ओ फ्यारेलले भने, “हामी खराब अवस्थाका लागि तयारी गर्दै सहज अवस्थाको कामना गर्दैछौं।“

त्यस क्षेत्रका मानिसहरु डढेलोको जोखिमप्रति अभ्यस्त छन् तर गर्मी मौसम शुरु हुनु अघि नै त्यस्तो खतरा बढेको उनीहरुले भोग्ने गरेका थिएनन्।

प्राय: डढेलो लाग्ने गर्मी याम त्यहां शुरु समेत भएको छैन।

सयौं मानिसहरु घरबार विहीन भएका छन् भने सम्भवत: आफ्नो घर आगलागीबाट जोगाउने प्रयासमा हृदयाघात भएर एकजनाको ज्यान गएको छ।

अधिकारीहरुले तीनवटा स्थानका डेढेलोले आगामी दिनमा ठूलो रुप लिन सक्ने चेतावनी दिएका छन्।

दुईवटा ब्लु माउन्टेन्स क्षेत्रमा छ।

ब्लु माउन्टेन्सको फेद सिड्नी शहरको उपनगरीय क्षेत्र नजिकै पर्दछ।