फ्रान्समा अमेरिकी गुप्तचरीको आरोप

  • 21 अक्टोबर 2013
स्नोदन
Image caption स्नोदेनले अमेरिकी गुप्तर सूचनाहरु सार्वजनिक गरीदिएका थिए

अमेरिकाको राष्ट्रिय सुरक्षा संस्था एनएसएले फ्रान्समा गरिएका करोडौं फोन कलहरुको अभिलेख राखी रहेको छ भन्ने आरोपहरुबारे बु्झ्न फ्रान्सले अमेरिकी राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएको छ।

फ्रान्समा गरिएका करोडौं फोन कलहरु गोप्यरुपमा अमेरिकी गुप्तचर संस्थाले सुनेको भन्ने समाचार प्रकाशित भएपछि फ्रान्सेली विदेशमन्त्री लराँ फेवियसले फ्रान्सकालागि अमेरिकी राजदूतलाई आफ्नो कार्यालयमा बोलाएका थिए।

उनले ती आरोपहरुबारे तत्काल छलफल गर्नुपर्ने भएकाले अमेरिकी राजदूतलाई बोलाइएको जनाए।

फ्रान्सको प्रभावशाली समाचारपत्र ले मेान्देले भूतपूर्व अमेरिकी गुप्तचर विश्लेषक एडवर्ड स्नोदेनले चुहाएका दस्तावेजहरुलाई उद्धृत गर्दै यसै वर्षको शुरुका तीस दिनमा फ्रान्सका सात करोड भन्दा बढी फोनहरु टेप गरिएको भन्ने समाचार प्रकाशित गरेको थियो।

फ्रान्सेली अधिकारीहरु, व्यापारिक प्रतिष्ठान तथा सन्दिग्ध आतँकवादीहरुले फोनमा गरेका कुराकानी पनि गोप्यरुपमा रेकर्ड गरिएको थियो।

जासुसी

उक्त समाचारपत्रले अमेरिकाको न्याशनल सेक्युरिटी एजेन्सीले सन् २०१२ डिसेम्बर १० देखि सन् २०१३ जनवरी ८ को बीचमा सात करोड तीस लाख फोनकलहरुको जासुसी गरेको जनाएको छ।

त्यस्तै सोही अवधिमा करोडौं टेक्स्ट मेसेजहरुको पनि जासुसी गरिएको थियो।

ती फोन तथा टेक्स्ट मेसेजहरु कसले कसलाई गरेको भन्नेमात्र अनुगमन गरिएको थियो वा तिनीहरुका विवरण पनि अभिलेख राखिएको थियो भन्ने स्पष्ट भैसकेको छैन।

उक्त समाचारपत्रले अपरेशन युएस ९८५डि नाम दिइएको उक्त कारवाही अहिले पनि जारी छ कि छैन भन्ने बारे केही जनाएको छैन।

फ्रान्सका गृहमन्त्री म्यानुअल भाल्सले ती आरोपहरु स्तब्ध पार्ने खालको भएको जनाएका छन्।

उनले भने, “सन्चारका नयाँ प्रविधिहरु आइरहेकाले निश्चय नै निर्देशिकाहरुको आवश्यकता छ। यो सबै मुलुकहरुकालागि चासोको विषय हो, तर यद‌ि एउटा सहयोगी मुलुकले नै फ्रान्स वा अन्य युरोपेली मुलुकहरुको जासुसी गर्छ भने त्यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन।”

सार्वजनिक

गएको जुन महिनामा एडवर्ड स्नोदेनले अमेरिकी गुप्तचर कारवाही बारे उनीसँग रहेका जानकारीहरु सार्वजनिक गरिदिएका थिए।

जस अनुसार अमेरिकाले रुस र चिनजस्ता प्रतिद्वन्द्वीहरु मात्रै हैन, युरोपेली संघ तथा ब्राजिलजस्ता सहयोगी मुलुकहरुको पनि जासुसी गर्ने गरेको थाहा भएको थियो।

त्यसपछि एनएसएले आफुले करोडौं अमेरिकीहरुको इमेल तथा फोन संबन्धी तथ्याङ्कहरु सँकलन गर्ने गरेको स्वीकारेको थियो।

आफ्नो देशमा राजनीतिक शरण मागेका स्नोदेनलाई रुसले एक वर्ष लामो भिसा दिएको थियो।

अमेरिकाले उनलाई उनी विरुद्ध लगाइएका फौज्दारी मुद्दामा उपस्थित हुन सुपुर्दगी गरियोस् भन्ने चाहन्छ।