सिरियाका विपक्षीहरुलाई शान्ति वार्तामा बस्न आग्रह

  • 23 अक्टोबर 2013
विपक्षी विद्रोही
Image caption सिरियाको एक विपक्षी समुहले जिनेभा सम्मेलन बहिष्कार गर्ने बताएको छ

सिरियाको संकट गहिरिदै जांदा अरब क्षेत्र र पश्चिमा नेताहरुले जिनेभामा गर्न लागिएको सम्मेलनमा सिरियाका नरम विपक्षी नेताहरु शान्ति वार्ता प्रति प्रतिबध्द हुनु पर्नेमा जोड दिएका छन्।

सिरियाका एक विपक्षी नेताले चांही केही पूर्व शर्तहरु पालना हुनु पर्ने अडान राखेको छ।

ब्रिटेनका विदेश मन्त्री विलियम हेगले सिरियाका मध्यमार्गी विपक्षी नेताहरु शान्ति सम्मेलनप्रति पूर्ण रुपमा प्रतिवद्ध हुन सिरियाली विपक्षीहरुलाई आह्वान गरे।

पश्चिमा र अरब विदेशमन्त्री तथा सिरियाली विपक्षी नेताहरुसंग लण्डनमा भएको वार्तापछि हेगले राष्ट्रपति बसर अल असदलाई भावी सरकारमा कुनै पनि भूमिका दिन नहुनेबारे एक मत रहेको बताए।

शुरुवात

तर यो प्रक्रियाले समय लिने उनको भनाइ थियो।

“यो कुनै घटना भन्दा पनि प्रक्रिया हो, यो एक वा दुई दिन हुने बैठक होइन जहां सहमति भइहाल्छ, यो त एउटा प्रक्रियाको शुरुवात हो।”

सिरियन न्यासनल कोएलीसनका एक नेता अहमद जार्वाले चांही केही पूर्व शर्त पालना नगरिए आफूहरु देश द्रोही ठहरिने चिन्ता व्यक्त गरे।

“हामी स्पष्ट रुपमा के भन्न आएका हौं भने हामी यस्तो क्रान्तिको प्रतिनिधित्व गर्दैछौं जस्मा सहभागीहरुले विगतमा थुप्रै खोक्रा आश्वासन हरु पाइसकेका छन्।”

“क्रान्तिले धेरै बोल्छ तर उपलब्धी केही पनि छैन, यदी हामीले केही राष्ट्रलाई विश्वास गर्दै जिनेभा सम्मेलनमा गयौं भने हाम्रा जनता हाम्रा पछि हुने छैनन्, हामीहरुलाई देश द्रोही भनिने छ।”

पूर्व शर्त

बन्दीहरुको रिहाइ, घेराबन्दीमा परेका क्षेत्रहरुमा सुरक्षित यात्रा गर्ने वातावरणको निर्माण र राष्ट्रपति असादले पदत्याग गर्ने सुनिश्चितता विपक्षीहरुका केही पूर्व शर्त हुन्।

सिरियाको एक विपक्षी समुहले जिनेभा सम्मेलन बहिष्कार गर्ने बताएको छ।

अमेरिकी विदेश मन्त्री जन केरीले सम्मेलन बेरोकतोक सम्पन्न हुने र वार्ता द्वारा समाधान निस्कने विश्वास व्यक्त गरेका छन्।