मतदानकालागि परिचय पत्र वा नागरिकता

  • 21 अक्टोबर 2013
Image caption एक महिनापछि हुने मतदानको लागि अन्तिम तयारी चलिरहेको निर्वाचन आयोगको भनाइ छ।

मतपत्र छपाइमा व्यस्त रहेको निर्वाचन आयोगले अन्तिम घडिसम्म लागेर भएपनि मतदाता परिचयपत्र वितरण गर्ने जनाएको छ।

हाल मतदाता नामावली छापीरहेको आयोगले आफ्नै छापाखानाबाट परिचयपत्र पनि छाप्ने प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले बताए।

मतदानको मिति आउन ठीक एक महिना बाँकी रहँदा आफ्नो तयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ।

तयारी

केही अघिसम्म मतदाता परिचयपत्र नछाप्ने मनस्थितिमा रहेको आयोगले हालै निर्णय परिवर्तन गरी आगामी हप्ताबाट छाप्न शुरु गर्ने बताएको थियो।

हाल रंगीन फोटो सहितको मतदाता नामावली छापिरहेको आयोगले आगामी हप्ताबाट मतदाता परिचयपत्र छाप्न शुरु गर्ने प्रमुख निर्वाचन आयुक्त निलकन्ठ उप्रेतीले बताए।

उनले भने, “मतदान केन्द्रमा प्रयोग गरिने फोटो सहितको नामावली छाप्नेकाम आइतबार सकिन्छ। त्यसलगत्तै मतदाताको लागि वितरण गरिने परिचयपत्र छाप्ने काम आयोगले शुरु गर्छ।”

झन्डै एक करोड २३ लाख मतदाताहरुको परिचयपत्र छाप्ने काम शुरु भएको १० दिनभित्र सक्ने लक्ष्य आयोगले लिएको छ।

चुनौती

अन्तिम समयमा शुरु गर्न लागिएको छपाइका कारण मतदाताको हातमा परिचयपत्र पुराउने काम सजिलो नहुने जानकारहरु बताउँछन्।

तर प्रमुख निर्वाचन आयुक्त उप्रेतीले मतदानको पूर्व सन्ध्यामा चुनावी संयन्त्रहरु व्यापक रुपमा क्रियाशील हुने हुँदा परिचयपत्र बाँड्न पनि सजिलो हुने बताए।

मतदाता शिक्षा लगायतका काममा खटिने झन्डै २० हजार कर्मचारीहरुले परिचयपत्र वितरणमा सघाउने र त्यो क्रम मतदानको एक दिन अघि सम्म जारी रह्ने उप्रेतिको भनाइ छ।

कथंकदाचित मतदानको दिनसम्म सबै मतदाताको हातमा परिचयपत्र नपुगे नागरिकता वा अन्य सरकारी परिचयपत्र देखाएर भोट हाल्न सकिने उप्रेतीले उल्लेख गरे।

बुधबार समानुपातिक प्रणाली तर्फका उम्मेदवारको बन्द सूची सार्वजनिक गर्न लागेको आयोगले कार्तिक १५ गते सम्ममा मतपत्रको छपाइ पुरा गर्ने बताएको छ।