म्यादीको विरोध चुनावी चिन्ताको विषय

  • 23 अक्टोबर 2013
EC
Image caption दलहरुबीचका झडप तथा म्यादी प्रहरीको विरोध जस्ता विषयप्रति निर्वाचन आयोगले पनि चिन्ता जनाएको छ

संविधानसभा निर्वाचनमा अन्य सुरक्षा निकायसंगै खटाउन लागिएका म्यादी प्रहरीहरुनै केही स्थानमा विरोधमा उत्रिएपछि त्यसले चुनावी वातावरणलाई नकरात्मक असर पार्न सक्ने विज्ञहरुले बताएका छन्।

तर यसले केही असर नपार्ने तथा नियम बाहिर गएर गतिविधि गर्ने म्यादी प्रहरीलाई कारबाही गर्ने नेपाल प्रहरीले बताएको छ।

धमिलोपन

पूर्व निर्धारित शर्त अनुसार सेवा सुविधा कम भएको भन्दै म्यादी प्रहरीहरुले विरोध गर्ने र जागिर छोड्ने गर्न थालेपछि चुनावी वातावरणमा असर पर्ने विज्ञहरुले बताएका छन्।

त्यस्तै विज्ञमध्येका एक, पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ भन्छन्, "निर्वाचनको वातावरणमा अलिकति धमिलोपन आउने खतरा हुन्छ। सेवा र शर्त जुन बनाएको छ त्यो आधारमा उनीहरुलाई सरकारले सुविधा दिनुपर्छ।"

कारबाही

प्रहरी प्रवक्ता नवराज सिलवालले भने म्यादी प्रहरीको आन्दोलनले सुरक्षामा कुनै खालको चुनौती नहुने बरु नियम विपरीत काम गर्नेहरुलाई कारबाही गरिने बताए।

उनले भने,"उनीहरुको सबै विवरण हामीसँग छ। गलत गतिविधि गर्ने मान्छेको चरित्र डाटावेसमा राखिदिन्छौं र कानुन बमोजिम कारबाही हुन्छ। भोलि चारित्रिक प्रमाण-पत्र लिने बेलामा यो गतिविधिले उनीहरुलाई नै असर पर्छ।"

प्रवक्ता सिलवालले झण्डै पाँच दर्जन म्यादी प्रहरीले जागिर छोडेको र बुधवारसम्ममा छोड्नेहरुको ठाउँमा वैकल्पिक उम्मेदवारहरुलाई भर्ना गरिने बताए।

सरकारले सहायक सुरक्षा कर्मचारीको रुपमा गएको असोज २४ गते नियुक्ति पत्र दिइ झण्डै ४५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो।

सरकारले दुई महिनाको साटो डेढ महिनाको मात्रै तलब सुविधा दिने र यातायात, आवास लगायतका खर्च आफैले बेहोर्नु पर्ने बताएपछि असन्तुष्टि व्यक्त गर्दै विभिन्न स्थानमा ठाउँमा म्यादी प्रहरीहरुले विरोध गरेका थिए।