समानुपातिक उम्मेदवारको अन्तिम सूची

  • 23 अक्टोबर 2013
Image caption संविधानसभा निर्वाचनमा पहिलो हुनेले जित्ने प्रणालीबाट २४० र समानुपातिकबाट ३३५ उम्मेदवार छानिनेछन्

संविधानसभाको झण्डै ६० प्रतिशत हिस्सा ओगट्ने समानुपातिक प्रणाली अन्तर्गतको उम्मेदवारहरुको बन्द सूचीलाई बुधबार निर्वाचन आयोगले सार्वजनिक गरेको छ।

गत महिना दलहरुले निर्वाचन आयोगलाई प्रारम्भिक सूची बुझाएका थिए।

उक्त सूचीमाथि दलहरुले मंगलबारसम्म हेरफेर गरेका थिए।

अन्तिम रुप दिइएको सूची अब परिवर्तन गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ।

बाँडफाँड

पहिलो संविधानसभादेखि शुरु गरिएको समानुपातिक प्रणाली अन्तर्गतको ३३५ सभासद संख्या मधेशी, दलित, उत्पीडित जाति, आदिवासी जनजाति, पिछडिएको क्षेत्र र खस आर्य तथा अन्य गरी पाँच समूहमा विभाजन गर्नुपर्ने कानुनी व्यवस्था छ।

समानुपातिक सूची पेश गरेका १२२ मध्ये करीब ८ दलले ३३५ सीटकै लागि उम्मेदवार पेश गरेको प्रारम्भिक अनुमान गरिएको आयोगका प्रवक्ता बीरबहादुर राईले बताए।

उनले भने, "अब सूची हेरफेर गर्न पाइन्न। हामीले छिटै सन्चार माध्यम मार्फत सार्वजनिक गर्नेछौं ।"

नियम

खासगरी पहिलो हुनेले जित्ने प्रणालीका लागि ३० प्रतिशत भन्दा बढी क्षेत्रमा उम्मेदवार उठाउने दलहरुका लागि मात्र समानुपातिक प्रणालीको नियम लाग्ने व्यवस्था छ।

समानुपातिक तर्फ सबै सीटका लागि सूची पेश गरेका प्रमुख दलहरु मध्ये यसपटक नेकपा एमालेले यसअघिको निर्वाचनमा समानुपातिक कोटाबाट प्रतिनिधित्व गरेकाहरुलाई समावेश नगरेको जनाएको छ।

तर नेपाली काँग्रेस र एकीकृत माओवादी लगायतका कतिपय दलहरुले भने पार्टीका मुख्य नेतादेखि कैयौं नेताका परिवारका सदस्यहरुलाई समेत सूचीमा राखेका छन्।

संविधान निर्माणमा धेरै समुदायको संलग्नता होस भन्दै दलहरुले समानुपातिक प्रणाली व्यवस्था गरेका हुन्।

तर सीट बाँडफाँडमा मुख्य नेताहरु देखि व्यापारी, व्यवसायी र आफ्नै परिवारका सदस्यलाई सभासद बनाइने गरेको र साना दलका प्रमुखहरुको सांसद बन्ने महत्वाकांक्षा पुरा गर्ने माध्यम पनि बनाइएको भन्दै आलोचना हुने गरेको छ।