'अन्तर्राष्ट्रिय छानविनलाई सहयोग हुँदैन'

  • 24 अक्टोबर 2013
विस्थापित श्रीलंकाली
Image caption श्रीलंकामा दशकौंसम्म चलेको गृहयुद्धका कारण थुप्रै मानिस विस्थापित भएका छन्

गृह युद्ध सकिने बेला तमिल टाइगर विरुद्ध श्रीलंकाका सरकारी फौजले गरेका कारवाहीमा हजारौंको ज्यान गएको थुप्रै मानिस बेपत्ता भएको बताइन्छ।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त नभी पिल्लेले आगामी मार्चसम्ममा पनि श्रीलंकाले मानव अधिकार उल्लंघनका घटनाबारे छानविन नगरे अन्तर्राष्ट्रिय छानविन जरुरी हुन सक्ने बताएकी छन्।

कतिपय पश्चिमा देशहरुले त्यस्तै माग गरिरहेका छन्।

तर श्रीलंकाले आफ्नो तर्फबाट स्वतन्त्र छानविन भइसकेको भन्दै थप छानविनको आवश्यकता नपर्ने दोहो‍र्‍याएको छ।

‘अनावश्यक’

श्रीलंकाका विदेश मन्त्री जीएस पेरेसले भने, “हामीले स्वतन्त्र छानविन गर्ने निकाय बनाउन नचाहेका हैनौं, बनाइसकेका छौ,‌ त्यस्ले काम गरिसकेको छ।”

अन्तर्राष्ट्रिय छानविनको प्रस्तावलाई श्रीलंकाले स्वीकार गर्ला? भन्ने बीबीसीको प्रश्नको जवाफमा उनले भने, “अन्तर्राष्ट्रिय छानविनको आवश्यकता छैन, हामीले आफ्नो तर्फबाट काम गरिरहेका छौं।”

श्रीलंकाले आफ्नो बचाउ गरेपनि उस्को छानविनबाट अन्तर्राष्ट्रिय अन्तराष्ट्रिय समुदाय सन्तुष्ट छैन।

मानव अधिकारप्रति श्रीलंकाको प्रतिबद्धतालाई लिएर अर्को महिना श्रीलंकामा हुन लागेको राष्ट्रमंडलीय देशहरुको सम्मेलनमा कतिपय सदस्य देशहरुलाई सहभागिता नजनाउन आह्वान गरिएका छन्।