हेलिकप्टरको खर्च समानुपातिकबाट:आयोग

  • 24 अक्टोबर 2013
Image caption समानुपातिकतर्फका ३३५ जना उम्मेदवारले खर्च गर्न पाउने अढाई करोडबाट हेलिकप्टर प्रयोग गरे खर्च सीमा नमिचिने आयोगले जनाएको छ

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारका लागि हेलिकप्टर जस्ता हवाइसाधन प्रयोगमा खुकुलोपन ल्याएपछि त्यसले आयोग स्वयमले तोकेको उम्मेदवारको खर्च सीमा मिचिने देखिएको छ।

तर प्रत्यक्षतर्फका नभइ समानुपातिकतर्फका उम्मेदवारहरुका लागि तोकिएको कुल खर्चबाट उक्त प्रयोजनका लागि खर्च गरिनुपर्ने भन्दै आयोगले सीमा नमिचिने तर्क गरेको छ।

'विवेकपूर्ण'

यसअघि निर्वाचन आयोगले मोटर गाडी पुग्न नसक्ने ११ वटा दुर्गम जिल्लामा मात्रै हवाई साधन प्रयोग गरेर चुनाव प्रचार गर्न पाइने प्रावधान राखेको थियो।

तर अहिले बन्द हड्ताल र बाटो तथा पुलहरु भत्किएको अवस्थामा अन्य ठाउँमा पनि चुनाव प्रचारको लागि हेलिकप्टरको प्रयोग गर्न दिइएको प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले बताए।

उनले भने, "उहाँहरुले कारण खुलाई निर्वाचन आयोगलाई पत्र लेखेर अनुमति मागेपछि त्यो यदि हो भने मात्रै प्रयोग गर्न दिन्छौं। विवेकपूर्ण मात्रै बनाइएको हो। खुकुलो बनाइएको होइन।"

सीमा

आचारसंहिताको यो संशोधनले प्रत्यक्ष निर्वाचनका उम्मेदवारले १० लाख रुपैयाँ सम्म मात्रै चुनावका लागि खर्च गर्ने प्रावधान मिचिने कतिपयको धारणा छ।

हेलिकप्टरको केही घण्टाको भाडा समेत केही लाख पर्ने भएकाले सीमा मिचिने चिन्ता आएको हो।

तर समानुपातिकका उम्मेदवारहरुको कुल खर्च सीमाबाट त्यसमा खर्च गरिने भएकाले सीमा नमिचिने प्रमुख आयुक्त उप्रेतीको तर्क छ।

उप्रेतीले बीबीसीलाई भने,"समानुपातिकमा उठाएको ३३५ जना उम्मेदवारको भोट दलले माग्ने हो। प्रत्येक उम्मेदवारले ७५ हजार रुपैयाँ खर्च गर्न पाउँछन्। ती सबैको रकमबाट नै वरिष्ठ नेताहरुले हेलिकप्टरबाट गएर चुनावको वातावारण बनाउने हो। १० लाख रुपैयाँबाट त हेलिकप्टर प्रयोग गर्न सम्भवै छैन।"

तर आचारसंहिताको खुकुलोपनको फाइदा उठाउंदै सुगम ठाउँमा पनि हेलिकप्टरको प्रयोग हुन सक्ने भएकाले आयोग चनाखो रहनु पर्ने कतिपयको बुझाइ छ।