जर्मनीद्वारा अमेरिकी राजदूतलाई बोलावट

  • 24 अक्टोबर 2013
मर्केल र ओबामा
Image caption कथित फोन ट्यापिङ प्रकरणबारे मर्केलले ओबामासँग कुराकानी गरेकी थिइन्

अमेरिकी गुप्तचर संस्थाहरुले जर्मनीकी चान्सलर एङगेला मर्केलको मोबाइल फोनबाट गरिएका कुराकानी गोप्यरुपमा सुनेका थिए भन्ने आरोपहरुबारे बुझ्न जर्मनीको विदेश मन्त्रालयले अमेरिकी राजदूतलाई बोलाएको छ।

अमेरिकी राजदूत जोन एमर्सनले बिहीबार अबेर जर्मन विदेश मन्त्री गिडो भेस्टभेलालाई भेटदैछन्।

बुधबार चान्सलर मर्केलले राष्ट्रपति ओबामासँग कुराकानी गर्दै यदि त्यस्तो आरोप सही भए त्यसलाई विश्वासको उल्लँघन ठानिने बताएकी थिइन्।

दुई निकट सहयोगी मुलुकहरुबीच यसप्रकारको घटनालाई अस्वाभाविक मानिएको छ।

मर्केलले यस विषयमा विस्तृत स्पष्टीकरण मागेकी छिन्।

अनुगमन

ह्वाइट हाउसका अनुसार ओबामाले उनको फोन कुराकानीको अमेरिकाले अनुगमन नगरेको र भविष्यमा पनि नगर्ने बताएका थिए।

तर यसबाट विगतमा अमेरिकी गुप्तचर संस्थाहरुले उनको फोन कुराकानी सुन्ने गरेका थिए त ? भन्ने प्रश्न चाहिँ रहिरहने छ।

गत सोमबार फ्रान्सले पनि अमेरिकी गुप्तचर संस्थाहरुले फ्रान्समा गरिएका करोडौं फोन कलहरुको जासुसी गरेको भन्ने आरोपहरुबारे बुझ्न पेरिसस्थित अमेरिकी राजदूतलाई विदेश मन्त्रालयमा बोलाएको थियो।

उक्त समाचार प्रकाशन गर्ने ले मँद समाचारपत्रले अमेरिकी गुप्तचर संस्था न्याशनल सेक्युरिटी एजेन्सी एनएसएले न्यूयोर्क तथा वाशिङटनमा रहेका फ्रान्सेली कूटनीतिज्ञहरुको पनि जासुसी गरेको समाचार छापेको थियो।

एकजना भूतपूर्व अमेरिकी गुप्तचर विश्लेषक एडवर्ड स्नोदेनले चुहाएका विवरणहरु केही जर्मन तथा फ्रान्सेली समाचारपत्रहरुले प्रकाशित गर्दै आएका छन्।

जर्मनीमा अनधिकृतरुपमा अरुको फोन सुन्ने कामलाई निकै संवेदनशील ठानिन्छ।

जासुसी

चान्सलर एङ्गेला मर्केल हुर्किएको पूर्वी जर्मनीमा तत्कालिन कम्युनिष्ट शासकहरुले व्यापकरुपमा मानिसहरुको फोनको जासुसी गर्दथे।

एक वक्तव्यमा जर्मन चान्सलरका प्रवक्ता स्टेफेन सेइबर्टले भने, “दशकौं लामो निकट संबन्ध भएका मित्र तथा साझेदारहरु जर्मनी तथा अमेरिकाको बीचमा एकजना राष्ट्राध्यक्षको कुराकानी अनुगमन गरिने काम हुनुहुँदैन।”

ह्वाइट हाउसका प्रवक्ता जे कार्नीले भने, अमेरिकाले गुप्तचर सूचना सँकलन गर्ने तरिकाको पुनरावलोकन गरिरहेको छ।

उनले भने, "हामी हाम्रा जनता तथा सहयोगीहरुको सुरक्षा चिन्ता र गोपनियता संबन्धी सबै मानिसहरुको साझा चासोका बीच समुचित सन्तुलन कायम गर्न चाहन्छौं।"

एडवर्ड स्नोदेनले सार्वजनिक गरेको सूचनाहरुपछि अमेरिकी गुप्तचर संस्थाहरुको कार्यशैलीको युरोप तथा अन्यत्र पनि कडा आलोचना गरिएको छ।

आन्तरिक बजार तथा सेवासंबन्धी युरोपेली आयुक्त मिचेल बार्नियरले युरोपले अमेरिकाले अनुगमन गर्न नसक्ने गरी स्वतन्त्र विद्युतीय प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका छन्।

यो विषय डिजिटल अर्थतन्त्रबारे छलफल गर्न ब्रसेल्समा हुनलागेको युरोपेली सँघका सदस्य मुलुकहरुको शिखर सम्मेलनमा प्रमुख रुपमा उठने अपेक्षा गरिएको छ।