आचार संहिता पालना गर्न आयोगको निर्देशन

  • 26 अक्टोबर 2013
नाम दर्ता गर्दै उम्मेदवारहरु
Image caption आयोगले निर्वाचन आचार संहिता पालना गर्न दलहरुलाई फेरि सचेत तुल्याएको छ

निर्वाचन आयोगले आसन्न चुनावमा भोट माग्ने क्रममा दलहरु र तिनका उम्मेदवारले आफुले तोकेको नियम विपरित प्रचारप्रसार तीव्र रुपमा बढाएको भन्दै आचार संहिता कडा रुपमा पालना गर्न दलहरुलाई सचेत गराएको छ।

शनिबार आयोगले काठमाडौंको बानेश्वरमा एकीकृत माओवादीले आचार संहिताविपरित चुनाव प्रचार गर्न तोकेको आकारभन्दा ठूलो पोस्टर टाँसको भन्दै उम्मेद्वारलाई नै झिक्न लगाएको छ ।

यसरी नियम उल्लंघन गर्दै चुनाव प्रचार गर्नेलाई स्पष्टीकरण लिँदै त्यसलाई विभिन्न तरिकाले नियन्त्रण गर्न खोजिएको आयोगले जनाएको छ।

उल्लंघन

संविधानसभाको चुनाव आउन २४ दिनमात्रै बाँकिरहँदा दलहरुले देशैभर आफ्नो चुनावी प्रचारलाई तीव्र बनाइरहेका छन्।

तर यसरी भोट माग्न जाने क्रममा निर्वाचन आयोगले तोकेको आचार संहिता विपरित दलहरुले सवारीसाधनको लावालश्कर प्रयोग गर्ने, तोकिएको आकारभन्दा ठूलाठूला पोस्टर–प्याम्प्लेटहरु टाँस्ने, स्कूलहरुमा आमसभा गर्ने जस्ता कामहरु गरिरहेका छन्।

दलहरुले आचार संहिता नमानेपछि उनीहरु र निर्वाचनका लागि खटिएका अधिकृतहरुलाई समेत त्यस विषयमा थप आदेश दिनुपरेको प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले बताए।

उनले भने, 'निर्वाचन आचार संहिताको उल्लंघन भएको एकाध घटना आएपछि त्यसलाई रोक्न आदेश दिएका छौं।'

ऐन व्यवस्था दलहरुले नै बनाएकोले उल्लंघन गर्दाको परिणाम राम्रो नहुने पनि उप्रेतीले बताए।

अहिलेसम्म आचार संहिता उल्लंघन भएको उजुरी कतिवटा परेको छ या निर्वाचन आयोगले कतिलाई कारवाही अगाडि बढाएको छ भन्ने यकीन आयोगले गरिसकेको छैन।

सचेत

विभिन्न माध्यमबाट आउने खबरहरुलाई जानकारीमा लिँदै आचार संहिता विपरित काम गर्नेहरुलाई पहिला स्पष्टीकरण सोध्ने; त्यसपछि कारवाही अगाडि बढाउने काम भइरहेको आयोगले जनाएको छ ।

काठमाडौंको बानेश्वरमा आचार संहिता नाघेको भनिएको घटनामा आयोगले शनिबार नै कारवाही गरेको प्रमुख आयुक्त उप्रेतीले बताए।

उनले भने, “कारवाही भनेको कानुन अनुसार स्पष्टीकरण मागेर शुरु गर्ने हो। आजै बानेश्वरमा नियमविपरित पोस्टर टाँस्नेलाई हामीले झिक्न लगाएका छौं।”

आचार संहिता उल्लंघन गर्ने विरुद्ध कसैले उजुरी गरे कारवाही गर्ने तर आयोग आफैले प्रभावकारी रुपमा अनुगमन गर्न नसक्ने स्थिति यथावत रहेको बताइन्छ।

आचार संहिता उल्लँघन गर्नेमाथि कारवाही पनि अघिल्ला निर्वाचनदेखि नै सशक्त हुन नसकेको जानकारहरु बताउँछन्।