इरानमा चौध सीमा रक्षकको मृत्यु

  • 26 अक्टोबर 2013
एकजना सीमा रक्षक
Image caption पाकिस्तानसँगको सीमावर्ती क्षेत्रमा इरानी सीमारक्षकहरुमाथि पटक पटक हमला हुने गरेको छ।

इरानको सरकारी समाचारसंस्था इर्नाले पाकिस्तानसँगको सीमावर्ती इलाकामा बन्दूकधारीहरुसंग भएको भीडन्तमा इरानको सीमा सुरक्षा बलका चौधजना सदस्यहरु मारिएको जनाएको छ।

सरकारी सन्चार माध्यमहरुले सो हमलाको प्रतिकृयास्वरुप सरकार विरोधी समूहहरुसंग संबद्ध सोह्रजना मानिसहरुलाई फाँसी दिइएको जनाएका छन्।

सारावान शहर बाहिरको सीमावर्ती पहाडी इलाकामा उक्त घटना भएको थियो।

बन्धक

अरु कैयौं इरानी सैनिकहरुलाई पनि बन्धक बनाइएको उक्त समाचारसंस्थाले जनाएको छ।

ती हमलाकारीहरु को थिए भन्ने खुलेको छैन, तर सारावानबाट संसदमा प्रतिनिधित्व गर्ने एकजना सांसद हेदायतोल्लाह मिरमोराजेहीले उनीहरु क्रान्तिविरोधी छापामारहरु भएको बताएका छन्।

सरावानको पहाडी इलाकामा शुक्रबार राती ती हमलाहरु गरिएका थिए।

एउटा विद्रोही समूह जैश अल अद्लले ती हमलाको जिम्मा लिएको बताइएको छ, तर त्यसको पुष्टि भैसकेको छैन।

जुनदल्लाह भन्ने एउटा सुन्नी सशस्त्र समूहले हालैका वर्षहरुमा सुरक्षाकर्मीहरुमाथि हमला गर्ने गरेको थियो।

सिस्तान-बलुचिस्तानमा बसोबास गर्ने सुन्नी मुसलमान समुदायले इरानको शिया बहुल सत्ताले उनीहरुमाथि भेदभाव गरेको भन्ने गुनासो गर्ने गरेका छन्।

ती हमलामा अन्य सीमारक्षकहरु पनि घाइते भएका थिए।

हमला

एकजना स्थानीय अधिकारीले हमलाकारीहरु हमला पछि पाकिस्तानतर्फ भागेको जनाएका छन्।

सिस्तान-बलुचिस्तान प्रान्तका प्रान्तीय महान्यायाधिवक्ता मोहम्मद मारजेहले सारावानमा सीमा रक्षकहरुको हत्या गरिएको बदलामा शनिबार बिहान जाहेदान जेलमा सरकार विरोधी समूहसंग संबद्ध सोह्रजना विद्रोहीहरुलाई फाँसी दिइएको बताएका भनि फार्स समाचारसंस्थाले उद्धृत गरेको छ।

एउटा समाचारमा ती सबैले मृत्युदण्ड पर्खिरहेको तर शुक्रबार रातीको हमलापछि उनीहरुलाई तत्कालै फाँसी द‌िइएको हुनसक्ने बताइएको छ।

इरान, अफागानिस्तान तथा युरोपबीच अवैध लागू औषध व्यापारको एउटा मुख्य मार्गमा पर्दछ।

एएफपि समाचार संस्थाले अधिकारीहरुलाई उद्धृत गर्दै गएको तीन दशक यता लागू औषध तस्करहरुसंगको भीडन्तमा चार हजारभन्दा बढी प्रहरी अधिकारी तथा सैनिकहरुले ज्यान गुमाएको जनाएको छ।