उल्लंघन रोक्न पहिलेभन्दा बढी सक्षम छौं: आयोग

  • 28 अक्टोबर 2013
Image caption आचार संहिता उल्लंघन गर्नेलाई आयोगले ६ वर्ष सम्म कैद वा उम्मेदवारी नै रद्द गर्न सक्ने सम्म अधिकार छ

निर्वाचन आचार संहिताको व्यापक उल्लंघन भएका खबरका माझ, त्यसलाई नियन्त्रण गर्न निर्वाचन आयोग पहिलो संविधानसभाको चुनावमा भन्दा अहिले बढ्ता सक्षम रहेको एकजना आयुक्तले बताएका छन्।

निर्वाचन अनुगमनको लागि पश्चिम नेपालको भ्रमणमा रहेका आयुक्त दोलखबहादुर गुरुङले निर्वाचन आचार संहिता उल्लंघन नियन्त्रण गर्न कठिन नभएको बताए।

सहज

चुनावको गर्मी बढेसँगै तुल, ब्यानर, पोष्टर टाँस्ने तथा सवारी साधनहरु बढी प्रयोग गर्ने क्रम नरोकिएको, र भड्किलो प्रचार शैली अपनाएर आयोगले तोकेको सीमाभन्दा बढी रकम खर्च गरेको आरोप लागेको बेला उनको यस्तो भनाई आएको हो।

उनले भने, "पालना गराउने कुरामा जिल्लाहरुमा सहज छ। अझ पहाडी जिल्लाहरुमा राम्रो अवस्था पाएको छु।"

२०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमाभन्दा यस पटक आचार संहिता पालना गराउन आयोग बढी सक्षम रहेको उनको भनाई छ।

"तपाईहरुले गत २०६४ सालको निर्वाचनसँग तुलना गरेर हेर्नुपर्छ। त्यो बेला कति उल्लंघन भएको थियो, र अहिले कति छ? त्यो बेला कति कारवाही भएको थियो, र अहिले कति छ।" आयुक्त गुरुङले भने।

सजाय

तर विभिन्न जिल्लामा व्यापक रुपमा निर्वाचन आचार संहिताको उल्लंघन भएका खबरहरु आइनै रहेका छन्।

संविधानसभा सदस्य निर्वाचन आचार संहिता २०७० अनुसार, चुनाव प्रचारको लागि तुल, ब्यानर राख्न र पोष्टर टाँस्न पाइंदैन।

त्यस्तै एउटा उम्मेदवारले दुईवटा हलुका सवारी साधन भन्दा बढी प्रयोग गर्नु हुँदैन।

त्यस्तो कार्य नरोक्ने उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरीवाना वा उम्मेदवारी नै रद्द गर्न सक्ने सम्मको अधिकार आयोगलाई छ।

त्यस्तै सीमाभन्दा बढी खर्च गर्ने उम्मेदवारलाई सोही बराबरको रकम जरीवाना गराउन सक्ने, वा ६ वर्षसम्म कैद वा उम्मेदवार हुनै अयोग्य घोषित गर्न सक्ने सम्मको अधिकार आयोगलाई छ।