‘छिटपुट घटनाले चुनाव नरोकिने’

  • 28 अक्टोबर 2013
Image caption निर्वाचन आयोगले चुनावका लागी सुरक्षाकर्मी सहित सवा चार लाख जनशक्ति खटाइने जनाएको छ।

पछिल्ला दिनमा भैरहेका चुनाव विरुद्धका गतिविधिले मंसिर ४ को संविधानसभा निर्वाचनलाई असर नपार्ने प्रमुख निर्वाचन आयुक्त निलकन्ठ उप्रेतीले बताएका छन्।

चुनावको विपक्षमा उभिएका दलहरुले आफ्ना गतिविधि तीव्र बनाइरहेका बेला प्रमुख निर्वाचन आयुक्तले सुरक्षा निकायले त्यसलाई निस्तेज पार्ने विश्वास गरेका छन्।

केही दिन यता एकीकृत माओवादी विरुद्ध लक्षित रहेको चुनाव विरोधी समूहको गतिविधिको निशानामा सोमबार अन्य दलहरु पनि परेका थिए।

गतिविधि

चुनाव विरोधी समूहले नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले चुनाव प्रचारमा प्रयोग गरेको सवारी साधन नेपालगन्जमा जलाएका थिए।

अर्का काँग्रेस नेता नरहरि आचार्यको राजधानीमा र मधेशी जनअधिकार फोरमको प्रचारमा प्रयोग गरिएको सवारी साधनमा कैलालीमा आगजनी गरिएको प्रहरीको भनाइ छ।

झापा र नुवाकोटमा पनि सोमबार चुनाव पक्षधर दलका कार्यकर्तामाथि अक्रमण गर्ने प्रयास भएको प्रहरीले जनाएको छ।

विश्वस्त

मतदानको मिति भन्दा ३ हप्ताअघि भैरहेका पछिल्ला गतिविधि नियन्त्रण गर्न सुरक्षा निकाय लागिपरेको अधिकारीहरु बताउँछन्।

सोमबार गरिएको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त निलकन्ठ उप्रेतीले घोषित मितिमा नै सुरक्षित वातावरणमा मतदान हुने बताए।

“निर्वाचनका लागि आयोगको जहाज उडिसक्यो, हाम्रो जहाज अवतरण गर्न कुनै गाह्रो हुँदैन। एकदमै राम्रोसँग निर्वाचन सम्पन्न गर्नेछौँ र हाम्रो जहाज एकदमै ढुक्कसँग अवतरण गर्नेछ,” उनले भने।

चुनाव विरोधी गतिविधि नियन्त्रण गर्न सुरक्षाकर्मीले जारी राखेको प्रयासको प्रशंसा गर्दै उनले आफ्नो दल र उम्मेदवारहरुले पनि आफ‍्नो सुरक्षाको ख्याल गर्नुपर्ने उल्लेख गरे।

तत्व

पछिल्ला समयमा भएका चुनाव विरोधि गतिविधिमा नेकपा माओवादीको हात रहेको आश‌का गरिएको छ।

कुनै दल विशेषलाई आरोपित नगरेको प्रहरीले चुनाव विरोधी तत्वहरुले त्यस्ता घटना घटाएको र केही व्यक्तिहरुलाई गिरफ्तार गरी अनुसन्धान जारी राखेको बताएको छ।

चुनाव विथोल्ने घोषणा गरेको नेकपा माओवादीले त्यस्ता गिरफ्तारीको आलोचना गर्दै कडा प्रतिकार गर्ने चेतावनी दिने गरेको छ।