जासुसीको तरीका बदल्न आवश्यक रहेको अमेरिकाद्वारा स्वीकार

  • 29 अक्टोबर 2013
विरोध प्रदर्शन
Image caption अमेरिकाले अवाञ्छित गुप्तचरी गरेको भन्दै त्यसको चर्को विरोध गरिएको छ

ह्वाइट हाउसले जासुसी सूचना संकलनको प्रक्रियामा केही सुपरीवेक्षण तथा नियन्त्रण आवश्यक रहेको स्वीकारेको छ।

अमेरिकि गुप्तचरीको निशानामा परेकोप्रति क्रुद्ध हुने स्पेन पछिल्लो यूरोपेली मुलुक बनेको छ।

जर्मनीले यस अघिनै तीखो प्रतिक्रिया दिइसकेको छ।

आफ्ना मित्र राष्ट्रहरुबाट चर्को विरोध हुने थालेपछि अमेरिकि प्रशासन रक्षात्मक बन्न पुगेको छ।

ह्वाइट हाउसका प्रवक्ता जे कार्नेले यी आशंकाहरुको समाधान हाल जारी गुप्तचरीको नीतिगत समीक्षाले गर्ने बताएका छन्।

समीक्षाको आदेश

त्यसैगरी अमेरिकि संसदको माथिल्लो सदन सिनेटकि वरिष्ठ डेमोक्रयाटिक नेतृले उनले नेतृत्व गरेको सिनेटको गुप्तचरी सुपरीवेक्षण निकायले अमेरिकि गुप्तचर कार्यक्रमको वृहद समीक्षाको आदेश दिएको बताएकी छन्।

अमेरिकि गुप्तचर निकाय न्यासनल सेक्युरिटि एजेन्सी एनएसएद्वारा मित्र राष्ट्रका नेताहरुको निगरानी गरेको कार्यको आफु विरोधी रहेको सिनेटर डायन फाइन्सटाइनले जनाएकी छन्।

Image caption अमेरिकि सिनेटले गुप्तचरी कारवाहीको वृहद समीक्षा गर्न आदेश दिएको छ

वाशिंगटनमा रहेका इयुका प्रतिनिधिहरुले ती कार्यले उब्जाएको समस्यालाई विश्वासमा आएको पूर्ण खलबलीको रुपमा व्याख्या गरेका छन्।

सोमबार ती प्रतिनिधिहरुले अमेरिकि कंग्रेसका सदस्यहरुसंग कुराकानी गरेका थिए।

प्रतिनिधि मण्डलका एकजना सदस्य ब्रिटेनका तर्फबाट यूरोपेली संसदका सदस्य क्लाउडे मोरेजले भने, “उनीहरुले जवाफ त दिएका छन् तर हामीले खोजेको जवाफ होइन। वास्तवमा हामी यी घटनाबाट थाकेका छौं। हुन त जासुसी कार्य संधै नै जारी रहेको छ।”

पूर्व अमेरिकि जासुसी विश्लेषक एडवार्ड स्नोडेनले चुहाएका विवरणहरुले एनएसएद्वारा यूरोपेली नेता तथा नागरिकहरुको फोन कल तथा इमेल निगरानी गरेको देखाएका थिए।