भारतमा वित्तिय संकटको कुनै सम्भावना छैन: राजन

  • 31 अक्टोबर 2013
भारतीय रुपियाँ
Image caption गत अगष्टमा भारतीय रुपियाँ अहिलेसम्मकै कमजोर विन्दुमा पुगेको थियो

भारतको केन्द्रिय बैंकका नयाँ गभर्नरले भनेका छन् भारतसंग विदेशी मुद्राको पर्याप्त भण्डार रहेकाले सन् १९९१ को जस्तो भुक्तानी सन्तुलनको संकट दोहोरिने कुनै सम्भावना छैन।

पद सम्हाले यता विदेशी सञ्चार माध्यमलाई दिएको पहिलो अन्तर्वाताका क्रममा बीबीसी कि लिन्डा युसंग उनले त्यस्तो बताएका हुन्।

रिजर्व बैंक अफ इण्डियाका गभर्नर रघुराम राजनले सेप्टेम्बरमा पद सम्हाल्ने ताका भारतीय रुपियाँ, अमेरिकि डलरको तुलनामा हालसम्मकै सबभन्दा कमजोर अवस्थामा पुगेको थियो।

कमजोर भारु

गएको अगष्ट महिनामा भारतीय रुपियाँ १ डलर बराबर ६८ सम्म पुगेको थियो।

त्यसको असर नेपालमा पनि देखियो।

यहाँ नेपाली रुपियाँ १ डलर बराबर झण्डै ११० पुग्यो।

त्यति नै खेर रघुराम राजन, भारतको केन्द्रिय बैंकको गभर्नर नियुक्त भएका थिए।

विगतमा अन्तर्राष्ट्रिय मुद्रा कोषका आर्थिक सल्लाहकार समेत रहिसकेका राजनले पद सम्हाले यता विस्तारै भारु बलियो हुँदै गएको छ।

अहिले, त्यो, १ डलर बराबर करीब ६० भारुको हाराहारीमा रहेको छ।

राजन भन्छन् ६८ पुग्नु भनेको अस्वाभाविक रुपमा भारु कमजोर देखिनु हो। त्यस्तै ५० मा झर्नु चाहीं अस्वाभाविक रुपमा बलियो देखिनु हो।

संचिति

भारुको गिरावट तथा आर्थिक वृद्धिको सुस्तापश्चात भारतीय अर्थतन्त्रको बारे कैयौं प्रश्न उठेका थिए।

त्यसको जवाफ दिंदै राजनले भनेका छन् भारतसंग हाल आफ्नो कुल गार्हस्थ उत्पादनको १५ प्रतिशत जति विदेशी मुद्राको संचिति छ।

उनी भन्छन्, “यदि कसैले माग्छ भने हामी हाम्रा अल्पकालीन ऋण भोलि नै तिरिदिन सक्छौं। त्यस अर्थमा हामीसंग पर्याप्त संचिति छ।”

उनका अनुसार जुन देशसंग २ खर्ब ८० अर्ब डलर बराबरको संचिति छ त्यसले आफुलाई आवश्यक वित्तिय मद्दत आफैं गर्न सक्छ।

राजन भन्छन् चालु बचत खाता तथा वित्तिय घाटामा कमी आउँदै गर्दा केही लगानीकर्ताले भारतबाट लगानी झिकेका थिए।

जसका कारण भारु निकै कमजोर बन्न पुगेको थियो।