सिरियामा ३० बढी सैनिकको मृत्यु: विपक्षी समुह

  • 18 नोभेम्बर 2013
सिरियामा हिंसा
Image caption आइतबारको विष्फोटनपछि सैन्य अखडा रहेको भवन पुरै ध्वस्त भएको बताइएको छ

दमास्कस नजिकैको एक सैन्य अखडामा भएको विष्फोटनमा मारिनेहरु मध्ये चारजना सेनाका उच्च अधिकारीहरु रहेको बताइएको छ।

विद्रोहीहरुले एउटा सैन्य भवनको भुइंतल्लामा विष्फोटक पदार्थ राखिदिएका थिए।

त्यो विष्फोटन पछि भवन पुरै ध्वस्त भएको बताइएको छ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स् नामक एक विपक्षी सञ्जालका अनुसार सरकारी भवनमा भएको विष्फोटन पछि ३१ जना मारिएका छन्।

विपक्षी लडाकूहरु सुरक्षा घेरा तोडेर सो भवनमा प्रवेश गर्न सफल भएका थिए।

बढ्दो हिंसा

तर पछिल्लो खबर सिरियाको सरकारी सञ्चार माध्यम र सरकारी अधिकारीबाट पुष्टी भएको छैन।

केहि दिनयता सरकारी फौज र विद्रोहीबीच भिडन्तहरु चर्किदै गर्दा दमास्कस क्षेत्रमा हिंसा बढिरहेको छ।

बिहिबार पुरानो दमास्कस शहरमा बम र मोर्टार आक्रमणपछि तीन जनाको ज्यान गएको थियो।

सोमबार एउटा स्कूल बसमा आक्रमणपछि सो बसका चालक र चार जना केटाकेटीको ज्यान गएको थियो।

आइतबारको विष्फोटन दमास्कस नजिकैको हरास्ता क्षेत्रमा भएको थियो।

विपक्षी समुहका अनुसार पछिल्लो आक्रमणमा प्रयोग भएको विष्फोटक पदार्थबारे प्रस्टता छैन, तर त्यसले सरकारी भवनलाई पूरै ध्वस्त बनाइदिएको छ।