भारतबाट सैन्य सामाग्री आयो

  • 1 नोभेम्बर 2013
NA
Image caption इन्सासभन्दा अत्याधुनिक मानिने अमेरिकी एम १६ राइफल नेपाली सेनाले प्रयोग गरिसकेको छ

करिब नौ वर्षमा पहिलोपटक भारतले नेपाली सेनालाई उपलब्ध गराएका घातक हतियार लगायतका सैन्य सामाग्रीहरु नेपाली भूमिमा ल्याइपुर्याइएको छ।

नेपाली सेनाले, हतियारसहितका करिब ७ दर्जन सैन्य ढांचाका सवारी साधन बिहीबार बुटवल आइपुगेको जनाएको छ।

साथै दुई सयवटा भन्दा बढी हलुका सवारी साधन वीरगञ्ज भन्सार ल्याइसकिएको सेनाका प्रवक्ताले बताएका छन्।

आपूर्ति

तात्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा शासनसत्ता आफ्नो हातमा लिएपछि भारतले नेपाली सेनालाई आपूर्ति गर्दै आएको घातक हतियार रोकेको थियो।

सुरक्षा मामिलासम्बन्धी द्धिपक्षीय परामर्श समूहको करिब छ महिनाअघि भारतमा भएको बैठकले ६० प्रतिशत अनुदान र बांकी नेपाली पक्षले तिर्नुपर्ने गरी सैन्य सामाग्रीहरुको आपूर्तिका लागि बाटो खोलिदिएको थियो।

त्यसै बैठकमा सहमति भएअनुसारको सैन्य सामाग्रीको एउटा अंश नेपाली सेनाले प्राप्त गरेको हो।

सैनिक प्रवक्ता जगदीशचन्द्र पोख्रेल भन्छन्, “१५४ वटा सैन्य ढांचाको गाडी भनिएको त्यसमध्ये ८० वटा आइसकेका छन्। बांकी शुक्रबार आउनेछन्।”

हतियार

आएका सवारी साधनमध्ये केही बख्तरबन्द गाडी समेत छन्। २१६ वटा हलुका सवारी साधन पनि वीरगञ्ज भन्सारमा आइसकेको पोख्रेलले बताए।

सेनाले हतियारको संख्याबारे भने बताउन नचाहेपनि भारतीय इन्सास राइफलहरु प्राप्त भएको पुष्टि गरेको छ।

द्धन्द्धकालमा इन्सास राइफल कमसल खालको भएको भन्दै त्यसको बदलामा सेनाले अत्याधुनिक अमेरिकी एम १६ राइफल खरिद गरेपछि भारतले औपचारिक रुपमै असन्तुष्टि पोखेको थियो।

यसपटक इन्सास राइफल नै ल्याउनुको कारणबारे सोध्दा सैनिक प्रवक्ता पोख्रेल भन्छन्, “द्धिपक्षीय सहमति अनुसार नै यी हतियार ल्याइएका हुन्। सेनाले बेग्लै प्रष्टीकरण दिन जरुरी छैन”।

हतियारबारेका आशंकाबीच पनि सेनाले चुनावअघि प्राप्त भएका यी सैन्य सामाग्रीले आफ्नो कार्यसम्पादनलाई सहज बनाउने बताएको छ।